दुईतिहाइ हुँदा पनि कम्युनिस्टले सरकार चलाउन नसक्नु लज्जास्पदः बालकृष्ण खाँण

भैरहवा । नेपाली कांगेसका नेता बालकृष्ण खाँणले सरकारले नागरिकको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् ।

रुपन्देहीमा शनिबार नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले तिलोत्तमामा आयोजना गरेको विरोध प्रदर्शन सभालाई सम्बोधन गर्दै खाँणले कम्युनिष्ट पार्टीको झण्डै दुईतिहाइको सरकार हुँदा पनि सरकार चलाउन नसक्नु लज्जास्पद भएको बताए ।

उनले अहिलेको अबस्थामा कुनै नागरिकले कम्युनिष्टलाई साथ दिनुभनेको गर्मीको समयमा कम्मल ओड्नु जस्तै हुने बताए ।

नेता खाँणले संविधान मिचेर प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेको भन्दै आक्रोश पोखेका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ शैलीको कम्युनिष्ट शासन प्रणाली नेपालमा लागू गर्न खोजेकै कारण असफल भएको बताए । उनले अहिले संसार लोकतन्त्रको पक्षमा, जनताको पक्षमा भएको भन्दै ओली सरकार निरंकुश, अधिनायकवादी हुन थालेका कारण मुलुकमा समस्या आएको बताए ।

उनले सरकारले नागरिकको चियो चर्चा गर्न फोट ट्यापिङ थालेको भन्दै नागरिकको गोपनीयताको अधिकार खोस्ने कानून ल्याउन लागेको बताएका छन् ।

‘कम्युनिस्टले विधिको शासन मान्दैनन् । कम्युनिस्टहरू परिवारवाद चाहन्छन् । निरंकुशता अगाडि बढाउने भनेको कम्युनिस्ट पार्टी हो’, खाँणले भनेका छन् ।

‘हाम्रो सगरमाथा हामी आफैले उचाइँ आफै नाप्छौँ । अरु देशले नाप्ने होइन । सगरमाथाको उचाइँ नाप्न पैसा चाहियो भने हामी चन्दा दिन्छौँ’, नेता खाँणले भनेका छन् ।

नेता खाँणले प्रधानमन्त्री ओलीकै कारण पटक पटक विदेशीले सगरमाथामाथि धावा बोल्ने आँट गरेको बताए । सगरमाथाको गरिमामाथि धावा बोल्ने अबसर विदेशीलाई दिएर ओलीले राष्ट्रघाति काम गरेको नेता खाँणले आरोप लगाए ।

‘उत्तरको छिमेकीलाई सगरमाथाको उचाइँ नाप्न दिएको र दक्षिणको छिमेकी पत्रकारको आवरणमा सगरमाथाको गरिमामाथि धावा बोल्न हेलीकप्टर चढाएर सगरमाथाकै फेदीमा पुराइएको छ’, उनले भनेका छन् ।

‘कम्युनिस्टहरूले कोरोना राहत कोषमा एक रुपियाँ दिएनन्’, उनले भने, ‘कांग्रेसले ५० लाख दिएको छ ।’

उनले कांग्रेस पार्टी राष्ट्रियता र लोकतन्त्रका लागि कम्युनिस्टसँग संघर्ष गर्न तयार रहेको बताएका छन् । ‘ओलीजी कसरी सत्ताको कुर्सीमा बसिरहने भनेर मात्रै सोँच्नु हुन्छ । जनताको स्वास्थ्यमा कुनै चासो छैन’, उनले भने, ‘अरुको विश्वास नलागेर ओलीजीले आर्मीलाई आफ्नो स्वास्थ्य हेर्नका लागि जिम्मा दिनुभएको छ ।’

कार्यक्रममा रुपन्देही कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले ओली सरकार इतिहासकै सबैभन्दा भ्रष्ट र नालायक भएको बताए ।

तिलोत्तमाका नगर सभापति हरिलाल पाण्डे, रमेश डुम्म्रे लगायतले लोकतन्त्र र जनाधिकारको रक्षाका लागि कांग्रेसको बिकल्प नभएको बताए ।

Published : Saturday, 2021 January 16, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया