संसद विघटन सत्ता लम्बाउने खेल भयो भने कांग्रेसले ओलीलाई समाप्त पार्छः डा.महत

ललितपुर । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गर्‍यो भने निर्वाचनका लागि दवाव सिर्जना गर्नुपर्ने बताएका छन् ।

ललितपुर महानगरपालिकामा शनिबार आयोजित विशरोध सभालाई सम्बोधन गर्दै डा.महतले वैशाखमा चुनाव गराउन सरकारलाई दवाव दिनुपर्ने बताएका हुन् । उनले सर्वोच्च अदालतबाट संसद विघटन गर्ने सरकारको निर्णय सदर भयो भने छ महिनाभित्र विर्नाचन गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘संसद विघटन गर्ने सरकारको निर्णय अदाललते सदर ग¥यो भने हाम्रो ध्यान चुनावमा हुन्छ’, उनले भने, ‘ओलीले चुनाव नगरेर सरकारको आयु लम्बाउने हो की भन्ने आशंका छ । त्यो जायज पनि छ । वैशाखमा निर्वाचन हुनैपर्छ । हामीले दवाव दिनुपर्छ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले ओली सरकार कामचलाउ सरकारले कामचलाउ भएको भन्दै दैनिक कार्यसम्पादनको मात्रै काम गर्न सुझाव दिएका छन् ।

‘ओली सरकारले वैशाखमा चुनाव नगरेर आलटाल गर्‍यो भने आन्दोलन गर्नुपर्छ । कांग्रेसले आन्दोलन गर्‍यो भने ओली रहँदैन’, उनल भने, ‘छ महिनाभित्र निर्वाचन गर्नुपर्छ । छ महिनाभित्र चुनाव भएन भने सरकार बैध हुँदैन ।’

‘वैशाखामा चुनाव नगरेर अराजकता र अन्यौताको बाटोमा लैजान खोजियो भने स्वीकार गर्दैनौँ’, डा.महतले भनेका छन् ।

सह–महामन्त्री डा.महतले ओली सरकारका कारण मुलुक विदेशी शक्तिहरूको चलखेलको अखडा भएको बताएका छन् । ‘यो सरकारले चीन र भारतसँग मुलुकको स्वार्थको कुरा गर्दैन’, उनले भने, ‘कहिले चीनको पक्षमा बोल्छ । कहिले भारतको पक्षमा उभिएको हुन्छ । दुबै देश सशंकित छन् । भारत र चीनको डेलगेशन आइरहेका छन् । राष्ट्रियता सबैभन्दा धेरै कमजोर भएको छ ।’

सधैका लागि कम्युनिस्टले नजित्ने अवस्था सिर्जना गर्नुपर्ने उनले बताएका छन् । कम्युनिस्टले नजित्ने अवस्था सिर्जना भयो भने मात्रै बल्ल देश बन्ने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘सुखी नेपाल, समृद्ध नेपाल बनाउन सधैँका लागि कम्यसनिस्ट समाप्त पार्नुपर्छ ।’
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतसहतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 January 16, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया