गगनद्वारा नेकपाका चार नेताहरूको नाम सार्वजनिक, गोदावरीमा बिहानै प्रदर्शन

गोदावरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद विघटन गर्नेमा नेकपाका प्रमुख चार व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा शनिबार बिहान आयोजित कांग्रेसको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दोषी रहेको बताए । उनले संविधानलाई सहि बाटोमा ल्याउन कांग्रेसका नेताहरू मिलेर आन्दोलन गर्नुपर्ने बताए ।

‘एकजुट भएर, एकतावद्ध भएर संघर्ष गर्नुछ’, उनले भने, ‘संविधानलाई सहि बाटोमा ल्याउनुछ ।’ थापाले प्रधानमन्त्री ओलीको नाम कीर्तेप्रसाद ओली रहेको बताए । ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीको नाम केपी ओली होइन । कीर्तेप्रसाद ओली हो’, उनले भने, ‘संविधानमा नभएको प्रावधान टेकेर संसद विघटन गर्नुभएको छ ।’

संविधानको संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई एकपल्ट पनि नहेरी विघटन गरेको भन्दै कांग्रेस नेता थापाले आक्रोश पोखेका छन् ।

‘संविधान विपरित संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली जति जिम्मेवार छन्, त्यति नै जिम्मेवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि छन्’, उनले भने, ‘प्रधानमन्त्री बन्ने लोभमा संसद विघटन गर्ने अवस्था सिर्जना गरेका छन् । नेकपाको व्यक्तिगत मनमुटावले संसद विघटन भएको छ ।’

नेता थापाले कांग्रेसभित्रको सानातिना कुरा र मनमुटावलाई भुलेर नेकपा र नेकपाको सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन अनुरोध गरेका छन् ।

‘सबै मनमुटाव भुलेर हामी एक हुनुपर्छ । संविधान मात्रै होइन । देश संकटमा परेको छ । संसद पुनःस्थापना हुनुपर्छ’, उनले भने, ‘नेकपाभित्रको कलहले देशलाई बरबाद बनाएका छन् । कुर्सीको लागि संविधान मिच्ने काम भएको छ । संसद विघटन जनताको लागि होइन ।’

‘नेकपाका नेताको टकरावले जनताले सजाय भोग्ने होइन । नेकपाले देश र जनताका लागि घात गरेको छ’, थापाले भने, ‘ओलीले संविधानमाथि अपराध गर्नुभएको छ । जनताले दण्ड दिन्छन् ।’

विरोध कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, मनीकृष्ण महर्जन, गजेन्द्र महर्जन, मुना अधिकारीसहितका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 January 16, 9:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया