देशभरि प्रदर्शन हुनुभन्दा एकदिन पहिला आयो कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको असंवैधानिक कदमविरुद्ध माघ ३ गते हुने प्रदर्शनमा सहभागी बन्न अपील गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रार अपील जारी गरेर माघ ३ गतेको विरोध प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् ।

‘प्रधानमन्त्री केपी ओली नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ’, देउवाले भनेका छन्, ‘पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् ।’

‘माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु’, सभापति देउवाले भनेका छन् ।

‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं’, उनले भने, ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ ।’

‘पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’, कांग्रेसले भनेको छ ।

कांग्रेसले शनिबार देशभरि ओली सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्दै छ ।

Published : Friday, 2021 January 15, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया