उपेन्द्र यादवको यो हो ‘साउथ फिल्म’वाला ‘दादागिरी’, कार्यकर्तालाई तल्लोस्तरमा मुख छाडे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो विरोध गर्नेहरूलाई पार्टी छाड्न र पार्टी नछाडे कारबाही गर्ने धम्की दिएका छन् ।

सिरहाका जसपाका नेता राजाराम यादवसँगको टेलिफोन सम्वादमा अध्यक्ष उपेन्द्रले पार्टी छाड्न चेतावनी दिएका छन् । उनले आफूले भनेअनुसार नगरिए कारबाही गर्ने बताएका छन् ।

उपेन्द्र यादवले फोनमा भनेका छन्, ‘पार्टीमा मैले भनेअनुसार काम गर्ने हो भने गर्ने, होइन भने भाग ।’

जसपा सिरहाका नेता राजाराम यादव र अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन सम्वाद हुलाकी न्युज टिभीमा सार्वजनिक भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले राजकिशोर यादवलाई केपी ओलीको कार्यक्रममा सहभागी हुन सुझाव दिएका छन् । उपेन्द्र यादवले पार्टी छोडेर भाग्न पनि भनेका छन् ।

राजाराम यादवले पार्टीको वरीयता मिचेर कार्यक्रम भयो भने कालोझण्डा देखाएर विरोध गर्ने तथा कार्यक्रमनै बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

उपेन्द्र यादवले आपत्तिजनक अभिव्यक्ति दिएपछि राजाराम यादवले पनि उपेन्द्र यादवलाई पार्टीबाट कारवाही गर्ने चेतावनी दिएका छन् ।

सिरहामा जसपाले माघ ३ गते शनिबार प्रधानमन्त्री केपी ओलीविरुद्ध विरोध प्रदर्शन गर्दैछ । विरोध प्रदर्शनको कार्यक्रममा आसन ग्रहण गराउने विषयमा जसपाका वरिष्ठ नेता राजकिशोर यादवलाई पुछारमा राखेपछि विवाद भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपाका नेता कार्यर्काहरूलाई पेल्दै आएको आरोप लागिरहेका बेला सिरहाको विवाद बाहिर आएको छ ।

अध्यक्ष उपेन्द्र यादवले सिरहाको विरोध कार्यक्रममा पहिलो वरियतामा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी र तेस्रोमा विजय यादवलाई राख्न लगाएका छन् । राजकिशोर यादवको मानमर्दन गरेर अध्यक्ष उपेन्द्र यादवले चौथो नम्बर राख्न आदेश दिएपछि विरोध भएको छ ।

राजकिशोर यादव पार्टीको वरियतामा रेणु यादव, प्रकाश अधिकारी र विजय यादवभन्दा माथि छन् । नेताहरूको मानमर्दन हुने गरेर वरीयता मिचेर विरोध कार्यक्रम गर्ने तयारी भएपछि नेता राजकिशोर यादव निकटका नेता कार्यकर्ताहरूले बहिस्कारको चेतावनी दिएका छन् ।

तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएपछि अध्यक्ष उपेन्द्र यादवले राजपाका नेता कार्यकर्ताहरूलाई पेल्दै आएको आरोप छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको निरंकुशताका कारण पटक–पटक पार्टी विभाजित हुँदै आएको छ ।

Published : Friday, 2021 January 15, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया