कम्युनिस्टहरू झुठ बोलेर सत्तामा पुगे, जनताले अब कांग्रेस खोज्न थालेः डा.महत

शिवपुरी । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले झुठ बोलेर सत्तामा पुगेका कम्युनिस्टहरूसँग जनता दिक्क भएको बताएका छन् ।

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका– ३, लिखुको रामायण छाप माविमा लायन्स क्लब इन्टरनेसनल ३२५ ‘ए’ वानद्वारा बिहीबार आयोजित न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले जनताले कांग्रेसलाई खोज्न थालेको बताए । उनले कम्युनिस्टहरूले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि काम गर्न नसकेको बताए ।

‘देशमा कामभन्दा कुरा बिक्छ । कम्युनिस्टले मीठा कुरा गर्छन् । झुठ बोल्छन् । कम्युनिस्टको कुरा बिक्यो’, उनले भने, ‘कांग्रेसले विकासका साथै बिजुली, बाटो, स्कुल र आधारभूत कुरा ल्याउने काम गरेको छ ।’

कांग्रेसले काम गर्ने गरेको भन्दै झुठ कुरा गर्न नजानेको उनले बताएका छन् । ‘सत्ता चलाउने कम्युनिस्टहरू गफ गर्न सिपालु छन् । गफ गर्छन्’, उनले भने, ‘समय ढिलो चाँडो ठीक ठाउँमा आउँछ । जनताले महशुस गरेका छन् ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले निर्वाचनको लागि तयारी अवस्थामा रहेको बताएका छन् । ‘संसद विघटनसम्बन्धी अदालतले जे फैसला गर्छ त्यो मान्न हामी तयार छौँ’, उनले भने, ‘निर्वाचनबाट कांग्रेस सत्तामा आउँछ । विकास गर्ने पार्टी भनेको कांग्रेस मात्रै हो ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले आफूले विद्यालयको शिक्षा चौतारोमा बसेर लिएको बताए । उनले लगनशीलता र प्रतिवद्धता भयो भने शिक्षाले साना बालबालिकालाई ठूलो मान्छे बन्न धेरै समय नलाग्ने बताए ।

‘मैले चौतारमा पढेरै मन्त्री बने । विभिन्न पदमा पुगेको छु’, उनले स–साना बालबालिकालाई शिक्षाको महत्वबारे भने, ‘शिक्षा भनेको कसैले खोस्न नसक्ने सम्पत्ति हो । पढाइमा प्रतिवद्धता भयो भने सफल भइन्छ ।’

उनले अहिलेका सरकारी विद्यालयका भवन र आधारभुत सुविधा रहेको भन्दै निजी विद्यालयभन्दा सरकारी विद्यालय राम्रो रहेको बताए ।

कार्यक्रममा सह–महामन्त्री डा.महतले नुवाकोटको शिवपुरी काठमाडौं नजिक भएर पनि दुर्गम जस्तो देखिने गरेकोमा अहिले धेरै विकास भएको बताएका छन् ।

पहिले गोरेटो बाटो निर्माण गर्न बजेट माग हुने गरेकोमा अबको माग बाटो पिच गर्ने रहने गरेको उनले बताएका छन् ।

२०४६ सालको आन्दोलनदेखि नै कांग्रेसले जनभावना अनुरुप काम गरिरहेको डा. महतले बताएका छन् ।

लोकप्रियताका लागि अहिले अरु दलहरूले पनि कांग्रेसको अनुशरण गरेको उनले बताएका छन् । लायन्स क्लब इन्टरनेसनल ३२५ ‘ए’ वानका डिष्ट्रिक्ट गभर्नर लायन टंकबहादुर श्रेष्ठले लिखुमा प्राप्त आतिथ्यताले खुशी लागेको बताएका छन् ।

कार्यक्रममा लायन्स क्लबले सबै विद्यार्थीलाई स्कुल ड्रेस, स्वीटर वितरण गरेको छ । कार्यक्रममा कर्मालय फाउन्डेसनले मास्क वितरण गरेको थियो ।

लायन्स क्लबका सदस्यहरूका अलावा कार्यक्रममा प्रदेश सभा सदस्य कल्पना नेपाली, जिल्ला समन्वय समितिका सदस्य अप्सरा थापा, वडाध्यक्ष रामहरि थापा, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष महेन्द्र थिङ, नेपाली कांग्रेसका नेता यामबहादुर थापा, नेपाली कांग्रेसका प्रदेश सभापति अर्जुनप्रसाद न्यौपाने, नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष उत्तम पाठक लगायत शिक्षक, अभिभावक, विद्यार्थीको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 January 14, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया