ओलीजी जनताको सम्पत्ति विघटन गर्नुभयो, तपाईको अस्तित्व समाप्त हुन्छः खाँण

तिलोत्तमा । नेपाली कांग्रेसका नेता एवम् विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले मालिक बन्न खोज्ने हो भने प्रधानमन्त्री केपी ओलीको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन् ।

थारु समुदायको नयाँ वर्ष २६४५ एवम् माघी पर्व २०७७ को अवसरमा रुपन्देहीको तिलोत्तमा– १३, करौजियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले मालिक बन्न खोज्दा राजसंस्थाको अन्त्य भएको बताए । उनले देशको मालिक भनेको नेपाली जनता मात्रै रहेको बताए ।

कांग्रेस नेता खाँणले जनताको सम्पत्ति प्रतिनिधि सभालाई प्रधानमन्त्री ओलीले विघटन गरेकोमा विरोध जनाएका छन् ।

‘जनताको प्रतिनिधि सभालाई समय अगावै मृत्युवरण गराउने काम भएको छ’, खाँणले भने, ‘संविानमा नभएको प्रावधानलाई टेकेर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ । प्रधानमन्त्रीको कदम असंवधानिक छ । अलोकतानित्रक छ ।’

‘कुनै पनि शासनकले अधिनकयावादी र निरंकुशता लाद्न खोज्छ भने शासक असफल हुनेछ’, कांग्रेस नेता खाँणले चेतावनी दिएका छन् ।

‘जनताले राजाको असंवैधानिक कदमलाई रोकेका छन् । राजसंस्था इतिहास भएको छ । राजा मालिक बन्न खोज्दा जनताले स्वीकार गरेको छैन’, उनले भने, ‘लोकतन्त्रमा देशको मालिक जनता हुन्छ । हामी नेता यो देशको मालिक होइन । यो देशको सेवक हौँ ।’

‘ओली मालिक हुन खोज्ने हो भने । राजाको अवस्था हुनेछ । इतिहासले देखाएको छ’, नेता खाँणले भनेका छन् ।

थारु समुदायलाई माघी पर्वको शुभकामना दिँदै कांग्रेस नेता खाँणले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म छरिएर रहेका थारुको आफ्नै महत्व रहेको बताए । उनले तराईको रक्षा आदिवासी जनजातिहरूले रक्षा गरेको बताएका छन् ।

‘कृषिलाई परम्परागत रुपमा काम गरेर खाद्यान्नको आभव पूरा गर्ने थारुहरू हुन्’, उनले भने, ‘जंगल फाँडेर खाद्यान्नको आपूर्ति पूरा गर्ने थारुको महत्व छ । उद्योग व्यवसायमा थारु दाजुभाइ दिदीबहिनीले भूमिका खेल्दै आउनुभएको छ ।’

उनले भने, ‘पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका थारुलाई शुभकामना छ ।’

‘तराईको रक्षा थारुले गरेका छन् । नेपाली भू–भागको सधैँ रक्षा थारुले नै गरेका छन्’, उनले भने, ‘हिमालको भू–भागको रक्षा आदिवासी जनजातिले गरेका छन् ।’

‘विभिन्न जातजाति र तराईवासीको कारणले तराईको भूमिको रक्षा भएको छ’, कांग्रेस नेता खाँणले भने, ‘हातेमालो गरेर अगाडि बढ्ने परिस्थिति छ । राष्ट्रियताको सम्वर्धनको लागि अगाडि बढ्नुपर्नेछ ।’

कार्यक्रममा थारु संस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिएको थियो ।

Published : Thursday, 2021 January 14, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया