मेरो उदेश्य भनेको कांग्रेसलाई एक बनाएर ठूलो पार्टी बनाउने होः देउवा

कुश्मा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव हुनेभन्दै कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् ।

पर्वत जिल्लाको शंकरपोखरीमा शहीद हरिदत्त तिवारी स्मृति भवनको बिहीबार उद्घाटन गर्दै देउवाले वैशाखमा चुनाव गर्न दवाव सिर्जना गनुपर्ने बताए । उनले वैशाखमा चुनाव भएन भने अर्को दुई वर्षपछि चुनाव हुने बताए ।

‘वैशाखामा चुनाव आइहाल्यो । ओली बदमास भन्छन् । बदमासलाई किन भोट दिएको ? पहिला भोट दिने अहिले बदमास भन्न पाइन्छ ?’, देउवाले प्रश्न गर्दै भने, ‘अहिले हामीले बिरोध कार्यक्रम गरिरहेका छौँ । चुनावको लागि हो । हामीले यसलाई ठूलो धक्का दिन्छौँ । ठूलो आन्दोलन गर्छौं ।’

‘ओलीलाई यो देशमा बस्नै गाह्रो पार्छौं । प्रजातन्त्र खत्तम हुन थाल्यो भने छोड्दैनौँ । सबैभन्दा ठूलो अदालत जनता हो’, उनले भने, ‘जनतामा जानबाट किन डराउने ? यो देशको मालिक र सबैभन्दा ठूलो अदालत जनता हो ।’

‘एक दिनन एक दिन जनताले भोट हाल्नैपर्छ । वैशाखमा चुनाव भयो भने एक भोट कांग्रेसलाई हाल्नुस् । भएन भने दुई वर्षपछि भाइहाल्छ । कांग्रेसलाई जिताउनुस्’, सभापति देउवाले अपील गरेका छन् ।

‘कम्युनिस्टले ठूला नारा दिए । झुठ बोले । जनता देशको मालिक हो । कम्युनिस्टले धोका दिएका छन्’, उनले भनेका छन् ।

‘प्रहरी र कर्मचारी जोसुकै होस् । जनताले तिरेको करले तलब खान्छन् । कुनै पार्टीले पुलिस र कर्मचारीलाई तलव दिँदैनन्’, उनले भने, ‘पार्टीको सेवा गर्ने होइन । जनताको सेवा गर्ने हो । निष्पक्ष भएर काम गर्ने हो । न्याय गर्ने हो । कसले के गरेको छ । हिसाव किताब राखेका छौँ । हाम्रो पार्टीले हेरिरहेको छ । हामीले हिसाब किताब लिन्छौन्छौँ ।’

सभापति देउवाले आफ्नो उदेश्य भनेको कांग्रेसलाई एक बनाएर ठूलो पार्टी बनाउने रहेको बताएका छन् ।

‘पार्टी सभापति भएको व्यक्तिले पार्टी बिगार्ने होला र ? मेरो स्वार्थ पार्टी एक बनाउने हो । पार्टी एक गराउने चाहन्छु । पार्टी ठूलो बनाउने हो । सबैलाई मिलाएर लैजाने हो । म देशभरि घुम्छु । डिस्टेन्स मेन्टेन गरेर हिँड्छु ।’

उनले भनेका छन्, ‘न्यायालयलाई यसो गर, उसो नगर भनेर दबाब दिन हँुदैन । अदालतले विवेक प्रयोग गर्नेे नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुँदैन ।’

न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्वामा कांग्रेसले पनि कुनै दबाब नदिने देउवाले बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले जनअपेक्षा अनुसार ओली सरकारले काम नगरेको आरोप लगाएका छन् ।

उनले आफूलाई भेट्न बुधबार साँझ नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय आएको बताएका छन् ।

सभापति देउवाले नेकपा २ भागमा विभाजित जस्तो देखिए पनि अझै पनि कानूनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने बताएका छन् ।

कांग्रेस नेता गोपालमान श्रेष्ठले शहीद तिवारीको योगदानबाट सिक्नुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्य अर्जुन जोशीले आफूलाई पदको लोभ नभएको भन्दै पार्टीलाई सशक्त बनाउनु आफ्नो प्राथमिकता भएको बताए ।

शहीद हरिदत्त तिवारीको स्मृतिमा शहीद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा २ तले भवन निर्माण गरेको प्रतिष्ठानका मुख्य संरक्षक, कांग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए ।

०६० साल माघ १ गते सशस्त्र माओवादी समूहले नेपाली कांग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो ।

कार्यक्रममा कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्ववान गुरुङ, पर्वत कांग्रेसका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’सहितका नेता कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 January 14, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया