यी रहेछन् माओवादी र कम्युनिस्ट सिध्याउने ‘धमिरा’

धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नारायणकाजी श्रेष्ठका कारण पूर्व माओवादी पार्टी बरबाद भएको बताएका छन् ।

कैलालीको धनगढीमा मंगलबार आयोजित बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री भट्टले माओवादी छिन्नभिन्न हुनुमा श्रेष्ठको ठूलो हात रहेको बताए । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई माओवादीमा ल्याएपछि पार्टीको अवसान शुरु भएको बताए ।

मन्त्री भट्टले श्रेष्ठलाई पार्टीमा लउनुनै ठूलो भुल भएको बताए । उनले भने, ‘शान्ति प्रक्रियामा आइसकेपछि जनमोर्चा एकता केन्द्र भन्ने जोडिएको थियो । त्यहीँबाट पूर्व माओवादीको अवसान हुन शुरु भएको हो ।’

उनले भने, ‘नारायणकाजी त्यो पार्टीमा धमिरोको रूपमा पसे र आज पनि यहाँ त्यही गरे ।’ वैद्य, बादल र विप्लवले पार्टी छोड्नुको कारण पनि श्रेष्ठ रहेको नेता भट्टले आरोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी ओली धनगढीमा आउँदा पदीय मर्यादाको ख्याल समेत नगरेर ठूलो भुल गरेको उनले बताए । मुख्यमन्त्री भट्ट चाकरीमा लागेको मन्त्री भट्टले आरोप लगाए ।

‘कुनै नेताको श्रीमती आउँदा मन्त्रीहरू झण्डावाल गाडी लिएर जान्छन्’, नेता भट्टले भने, ‘तपाईं हामीले बनाएका मुख्यमन्त्री चाकरीमा रमाए ।’

उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीले अधिकारीक हुने र चुनाव चिन्ह समेत आफूहरूले पाउने बताएका छन् ।

मंगलबार ओली समूहले १७५ सदस्यीय कैलालीको जिल्ला कमिटी थप गरेर ७५१ पुर्‍याएको छ ।

कार्यक्रममा विघटित प्रतिनिधी सभा सदस्य नारदमुनि राना, केन्द्रीय सदस्यहरू लीला भण्डारी, दीपक देवकोटा लगायतको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2021 January 12, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया