कांग्रेसले आफ्नै कर्मले खान्छ, कम्युनिस्टको पछि लाग्दैनः तरुण अध्यक्ष बस्नेत

ललितपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्टहरूसँग नेपाली कांग्रेसले निर्वाचनमा एक्लै सामना गर्न तयार रहेको बताएका छन् ।

कांग्रेसद्वारा शनिबार ललितपुरको क्षेत्र नं. ३ ‘क’मा गरिएको विरोध सभालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेस निर्वाचनका लागि तयार रहेको बताए । उनले भने, ‘सबै कम्युनिष्ट एक भएर आए हुन्छ, कांग्रेस एक्लै लड्नेछ, फैसला त्यहिँ हुनेछ ।’

जनताले कम्युनिष्टको हैसियत थाहा पाइसकेको भन्दै अध्यक्ष बस्नेतले कम्युनिस्टहरू पराजित हुने पक्का भएको बताए ।

‘निर्वाचन अगाडिदेखि नै कांग्रेसले कम्युनिष्ट आए देश भताभुङ्ग हुन्छ । जनताले दुःख पाउँछनभन्दा सबैले हारेको पार्टीभन्दै मजाक उडाए’, अध्यक्ष बस्नेतले भने, ‘आज त्यहि कुरा सत्य साबित भएको छ ।’

प्रतिनिधि सभाको निर्वाचनपछि केपी ओली नेतृत्वको सरकारको ताण्डव शुरु भएको उनले आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधान मिच्ने काम शुरु भयो । अब न्यायको घाटी थिचिन्छभन्दा कसैले सुनेर पनि नसुनेको जस्तै गरेका छन् । जसको परिणाम आज देखिएको छ ।’

उनले चिसो सडकको भुइँमा आएका प्रचण्ड–माधव त्यहि सरकारका मतियार रहेको बताएका छन् । ‘अहिले सत्ता प्राप्त नभएपछि नाटक मञ्चनको हिसाबमा चिसो भुइँमा आएका छन्’, बस्नेतले भनेका छन् ।

कम्युनिष्टले सधैँ जनताको विश्वासमाथि खेलवाड गरेको उनले बताएका छन् । ‘जनताको मतको कम्युनिस्टले दुरुपयोग गरेका छन्’, अध्यक्ष बस्नेतले भने, ‘देश र जनताको लागि इतिहासदेखि आजसम्म कम्युनिष्टले के–के हर्कत गरे ? सबैलाई थाहा छ ।’

कम्युनिष्टले अन्तिममा कांग्रेसकै कार्यकर्तालाई हान्ने, मार्ने र कांग्रेसलाई नै धोका दिएको नजिर देखिएको उनले बताएका छन् । उनले भने, ‘अब कुनै कम्युनिष्टलाई नेपाली कांग्रेसले साथ दिनेछैन ।’

‘तरुण दलले सरकारको अन्यायपूर्ण व्यवहारविरुद्ध प्रदर्शन गर्दा सबैले तरुण दललाई एउटा अराजक भिड, गुण्डा लगायतको आरोप लगाएर कम्युनिष्ट सरकारले तरुणमाथि ज्यादती गरेको छ’, उनले भनेका छन् ।

‘तरुण दल चुप लागेन सधै निरन्तर जनताको पक्षमा अगाडि बढिरह्यो । वाइडबडीदेखि बालुवाटार जग्गा प्रकरणसम्मका सबै मुद्दामा सरकारलाई चेतावनी र खबरदारी गर्दै आएको छ’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् ।

कांग्रेस कुनै भिडको पछि नलाग्ने उनले बताएका छन् । उनले कांग्रेसले आफ्नै कर्मले खाने समेत बताए ।

‘यो देश कांग्रेस बाहेक कसैले बनाउन सक्दैन । कांग्रेस सधैँ यो देशलाई धनी, समृद्ध र सबै जनता खुशी रहेको देख्न चाहन्छ’, उनले भनेका छन् ।

Published : Sunday, 2021 January 10, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया