सुध्रिएन भने कम्युनिस्ट लठैत र तस्करलाई चिसो पानीमा डुबाएर ठीक पारिन्छः कांग्रेस नेता बस्नेत


निरोज चौलागाइँ

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले संसद विघटन गर्नु संविधानमाथि प्रहार भएको बताएका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ ‘क’को चाकु बजार र ‘ख’को खाडीचौर बजारमा शनिबार कांग्रेसले आयोजना गरेको विरोध सभाहरूलाई सम्बोधन गर्दै बस्नेतले माधवकुमार नेपाल र प्रचण्डकै किचलोका कारण केपी ओलीले संसद विघटन गरेको आरोप लगाए । उनले संसद पुनःस्थापना हुँदा पनि कांग्रेसले मान्ने बताउँदै नयाँ जनमतका लागि निर्वाचनमा जान पनि तयार रहेको बताए ।

‘प्रधानमन्त्री केपी ओलीले असंबैधानिक कदम संविधानमाथिको प्रहार हो’, खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले भने, ‘यो अवस्था आउनुमा नेकपाकै शीर्ष नेताहरूको प्रमुख कारण छ ।’

उनले देशलाई अनिर्णयको बन्दी बनाउँन नपाइने बताएका छन् । ‘अब जनादेशमा जानुपर्छ । कांग्रेसले ताजा जनादेश लिने अदालतको निर्णय आयो भने निर्वाचनमा जान तयार छ’, उनले भने, ‘संसद पुनःस्थापना भयो भने पनि तयार छौँ ।’

उनले अदालतबाट आउने संसद पुनःस्थापना वा जनादेश लिने दुबै कुरालाई आत्मसात गरेर अगाडि बढ्ने बताए ।

अहिलेसम्म नेपालमा निर्वाचन कांग्रेसको सरकारले गर्दै आएको बताएका उनले बताए ।

७० वर्षपछि कांग्रेसका नेता स्वार्गीय सुशील कोइरालाको नेतृत्वमा संविधान बनेको भन्दै नेता बस्नेतले संविधानको रक्षाका लागि सधैँ अगाडि रहने बताए ।

कांग्रेस नेता बस्नेतले कम्युुनिस्टहरू भनेका लुटेर, भ्रष्टाचारी र ठगेर खानेभन्दा केही नजानेको बताए । ‘कम्युनिस्टहरूले लुटेर खाएका छन् । वाइडबडीमा चार अरब भ्रष्टाचार भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसमा सात ७० करोडको कमिशन’, उनले भने, ‘प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेर राख्नुभएको छ ।’

विश्वबाट पतन भएको कम्युनिस्टहरू नेपालमा ‘फुरफुर’ गरेर बसेको भन्दै नेता बस्नेतले भने, ‘कम्युनिस्टहरू आफै ढलेका छन् । कम्युनिस्ट रोएका छन् । कराएका छन् ।’

‘प्रचण्डले भाषण गर्दा कुम एक हात माथि उठाउँथे । थापाथलीमा चिसो सडकमा बसेको देखियो । सुनकोशीका बालुवा तस्करहरू र लठैतहरूलाई जस्तै चिसो पानीमा डुबाएर ठीक पारिन्छ’, उनले भने ।

बाह्रबिसे नगरपालिकाका कम्युनिस्ट मेयर तस्करीमा संलग्न रहेको कांग्रेस नेता बस्नेतले बताएका छन् । बाह्रबिसेको मेयरको तस्करीको २६ बाक्सा सामान समातेर राखेको उनले बताए ।

‘कम्युनिस्टहरू भ्रष्टाचारमा छन् । मुद्धा धाउँदा धाउँदा सक्किन लागेका छन्’, उनले भने ।

कम्युनिस्टहरू फुटेर आफ्नै ग्रुप चिन्न नसक्ने भएको कांग्रेस नेता बस्नेतले बताएका छन् । उनले भने, ‘कम्युनिस्टहरूले आफ्ना ग्रुप खोज्दाखोज्दै अलमलिएर भोट रुखमा हाल्छन् ।’

सिन्धुपाल्चोकमा कम्युनिस्टका ५० जना केन्द्रीय सदस्यहरू हुँदा पनि विकास गर्न नसकेको उनले बताएका छन् । कांग्रेस नेता बस्नेतले अग्निप्रसाद सापकोटाले सांसद विकास कोषको पैसा बाहेक एक रुपियाँको योजना ल्याउन नसकेको बताएका छन् ।

कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकका कम्युनिस्टहरूलाई सुध्रिएर बस्न सचेत गराएका छन् । उनले भने, ‘मलाई मार्ने कुरा गर्ने कम्युनिस्टहरू द्वन्द्वका बेला मलाई लछार पटार लगाउन सकेनौँ । तिमीहरू सुध्रिएर बस । होइन भने हामीले पनि जानेका छौँ ।’

Published : Saturday, 2021 January 9, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया