कांग्रेस नेतृ प्रसाइँले झापाली जनताको शिर निहुराएको भन्दै ओलीको सातो लिइन्

खुदुनावारी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सरिता प्रसाइँले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको सरकारले पार्टीभित्रको आन्तरिक विवादले संसद भङ्ग गरेको बताएकी छिन् ।

झापाको क्षेत्र नं. २ ‘ख’को खुदुनावारीमा शनिबार आयोजित सरकार विरोधी सभालाई सम्बोधन गर्दै राष्ट्रिय सभाकी पूर्वप्रमुख सचेतक समेत रहेकी नेतृ प्रसाइँले प्रधानमन्त्री केपी ओली र नेकपाका नेताहरूले जनताको जनमतको अपमान गरेको बताइन् ।

जनताले भोट दिएर जिताएको दललाई सरकार पाँच वर्ष चलाउ भनेर कांग्रेसले सहयोग गरेको भन्दै नेतृ प्रसाइँले तीन वर्षमा संसद विघटन गरेर असक्षमता प्रदर्शन गरेको बताइन् । ओलीलाई संसद विघटनमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएको भन्दै प्रसाइँले भनिन्, ‘संविधानको रक्षकले संसद विघटनमा साथ दिनुभयो । राष्ट्रपतिको गरिमा गुमाउनुभयो ।’

नेतृ प्रसाइँले संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अदालतले संसद पुनःस्थापना गरेपनि कांग्रेसले फैसलाको स्वागत गर्ने, निर्वाचनमा जान भने पनि प्रतिस्पर्धा गर्न तयार भएको बताइन् ।

उनले संसद विघटन गरेर संविधानलाई किन भत्काउनुभयो भनेर प्रश्न गरेकी छिन् । उनले भनेकी छिन्, ‘ओलीजी तपाई झापाको हुनुहुन्छ । तपाईले संसद भङ्ग गरेर झापाली जनताको शिर निहुरिने अवस्था बनाउनुभएको छ ।’

प्रधानमन्त्री ओलीले बालुवाटारमा भ्रष्टाचारीहरूलाई संरक्षण गरेर राखेको कांग्रेस नेतृ प्रसाइँले आरोप लगाएकी छिन् । उनले भनिन्, ‘ओम्नि, यती, वाइडबडी काण्डका भ्रष्टाचारीलाई किन संरक्षण गर्नुभयो । बालुवाटारको जग्गा बेच्ने र किन्नेलाई किन संरक्षण गर्नुभयो ?’

जनताको ताकत र भोटलाई अपमान नगर्न चेतावनी दिँदै कांग्रेस नेतृ प्रसाइँले भनिन्, ‘प्रधामन्त्रीजी जनताले भोट दिएर सत्ताको कुर्सीमा पुर्‍याएका छन् । जनताले नै तपाईलाई तानेर सडकमा फल्न सक्छन् ।’

‘ओलीजी किन झुठ बोल्नुभएको छ ? रेल खोइ ? वृद्ध भत्ता पाँच हजार बढाउँछु भनेर भोट पाउनुभयो । खोइ भत्ता ? पानीजहाजको टिकट कहाँ पाइन्छ ? घरघरमा ग्यासको पाइँप खोइ ?’, उनले प्रश्न गर्दै ओलीमाथि आक्रोस पोखेकी छिन् । उनले जनता ढाँट्ने कम्युनिस्ट पार्टीमा नलाग्न अपील गरेकी छिन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारको घर कहाँबाट आयो भनेर कांग्रेस नेतृ प्रसाइँले त्यो घरको विषयमा अख्तियारले छानविन गर्नुपर्ने बताएकी छिन् ।

Published : Saturday, 2021 January 9, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया