अदालतले भिडको दवावमा फैसला गर्ने होइनः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएका कारण जुलुसले भनेको आधारमा अदालतले निर्णय गर्नु नहुने बताएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले संसद विघटन संविधान विरोधी कदम भएको बताए ।

‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ । अदालतलाई प्रभावित गर्नुहुँदैन’, देउवाले भने, ‘जुलुसको भरमा अदालतले निर्णय गर्नुुहुँदैन । अदालतले विवेक पु¥याउने हो ।’

कांग्रेस सभापति देउवाले भने, ‘संवैधानिक मूल्य र मान्यतालाई पालना गर्ने हो । यही गर, उ गर भन्न मिल्दैन ।’

‘संसद पुनःस्थापना भएन भने चुनाव हुने अवस्था आउँछ’, उनले भने, ‘चुनाव गराउन दबाब दिनुपर्छ । चुनाव लड्नका लागि तयार हुनुपर्छ ।’

अदालतले मध्यावधिमा जाने केपी ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जान तयार रहेको देउवाले बताएका छन् ।

उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’ देउवाले आफूलाई ओलीले चुनाव गराउँछन् भन्ने विश्वास रहेको बताएका छन् ।

‘मलाई विश्वास छ, ओलीले चुनाव गराउँछन्’, उनले भने, ‘गराएनन् भने सबै जनता मिलेर जनताले ओलीलाई नेपालमै बस्न नदिने अवस्था आउन सक्छ ।’

कांग्रेसले शनिबार देशभरि प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गरेको भन्दै ३३० वटा प्रदेश सभाका निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।

Published : Saturday, 2021 January 9, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया