कम्युनिस्टलाई अझै दुई वर्ष ब्यहोर्छौं, ओलीलाई जथाभावी गर्न दिन्नौँः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले संसद पुनःस्थापना वा नयाँ जनादेशका लागि निर्वाचनमा जानेमध्येका एउटा फैसला छिटो गर्न आग्रह गरेका छन् ।

शनिबार नुवाकोटको क्षेत्र नं. १ ‘ख’ र काठमाडौंको क्षेत्र नं. ५ ‘ख’मा आयोजित सरकार विरोधी कांग्रेसका अलग–अलग कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता बचाउन संसद विघटन गरेको आरोप लगाए । सत्ताका लागि पार्टीभित्रको विवादका कारण ओलीले संविधान विपरित संसद विघटन गरेको बताए । उनले संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कांग्रेसले सो फैसला पर्खेर बसेको बताए ।

सर्वोच्च अदालतबाट आउने कुनै पनि फैसलालाई कांग्रेसले स्वीकार गरेर अगाडि बढ्ने बताए । उनले सर्वोच्चको फैसला आयो भने पार्टीको बैठक बसेर आगामी रणनीति तयार पारिने बताएका छन् ।

‘प्रचण्ड र माधवलाई सत्ता नभइनहुने, ओलीजीले नछाड्ने । कोरोनाका बेला लकडाउन भयो । उहाँहरूलाई सत्ताका लागि उपयुक्त समय भयो’, उनले भने, ‘दिनदिन मिटिङ । कसले सत्ता लिने भनेर । जनताको उपचारमा ध्यान दिनुभएन ।’

‘ओलीले नछाड्ने भएपछि प्रचण्ड र माधवले ओलीलाई हटाउन खोज्नुभयो । म नहुने भएपछि संसद किन चाहियो भनेर ओलीजीले विघटन गर्नुभयो’, सह–महामन्त्री डा.महतले भनेका छन्, ‘अहिले आएर प्रचण्डले भ्रष्टाचार र काण्डैकाण्ड भयो भन्नुभयो । पहिला यो कुरा थाहा थियो । त्यस बेला बोल्नुभएन । सत्ता नछाडेपछि ओलीविरुद्ध बोल्न थाले ।’

‘ओलीले म नहुने भएपछि संसद के काम ? भनेर विघटन गर्नुभयो । संसद विघटन गर्न पाइँदैन । विघटन गर्ने प्रक्रिया छ’, उनले भनेका छन्, ‘निर्वाचनका लागि वैशाखमा जाने कुरा गर्नुभयो । कांग्रेसलाई फाइदा नै छ । ओलीजीले कानून र संवैधानिक व्यवस्था मिचेको हुनाले विरोध गरका हौँ । उहाँले चुनाव गर्नु हुन्न । हामीलाई आशंका छ ।’

‘यो विषय सर्वोच्चमा बहस चलिरहेको छ । निर्णय पर्खी रहेका छौँ । असंवैधानिक छ । संविधानअनुसार सर्वोच्चले फैसाला गर्छ’, उनले भने, ‘विवाद भयो भने अन्तिम निर्णय गर्ने कुरा अदालतको हो । सर्वोच्चको फैसलापछि कसरी अगाडि बढने भन्ने कुरा पछि छलफल गर्ने छौँ ।’

‘सर्वोच्चले निर्वाचनमा जाउ भन्यो भने जाने । कामचलाउ सरकारलाई जथाभावी खर्च गर्न दिनु हुँदैन । समयमा निर्वाचन हुनुपर्छ भनेर दवाव मुलक आन्दोलनमा जाने हो’, उनले भने, ‘संसद पुनःस्थापना भयो भने संसदबाट दुई वर्ष कम्युनिस्टलाई ब्याहोर्ने पक्षमा छौँ । यो संसद रहन्छ वा अर्को संसद आउँछ ? यी दुईभन्दा अर्को बिकल्प छैन । निर्वाचनको बाटोलाई ओलीले आफू खुसी चलाउँछु भन्छन् भने त्यसो गर्न हामीले दिँदैनौँ ।’

उनले सरकार भ्रष्टाचार, बेथितिमा लिप्त रहेको बताएका छन् । ‘साधन स्रोत जनतालाई दिनेभन्दा पनि सरकारले आफ्ना नेतालाई चित्त बुझाउन लागेको छ । बजेट गैरसरकारी संस्थाका नाममा सिध्याएका छन् ।’

‘कोरोना महामारीका बेला सरकार बेखबर छ’, डा.महतले भने, ‘बीस अरब खर्च भयो कोरोना नियन्त्रणमा । जनताले उपचार पाएका छैन ।’

उनले भने, ‘अरु देशमा भ्याक्सिन दिन थालिसके । यो देशमा भ्याक्सिनको अत्तोपत्तो छैन । स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार भयो । उपप्रधानमन्त्री संलग्न हुनुभएको छ । उहाँहरूको ध्यान कति कमिशन पाइन्छ भन्नेमा मात्रै गएको छ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले जनताले ठूलो आशा गरेर कम्युनिस्टलाई सत्तामा पुर्‍याएको बताएका छन् । ‘ओली कमेडियन । प्रचण्ड कुरा मिलाएर कुरा गर्नु हुन्छ । जनतालाई झुक्काएर हो कि जस्तै पार्छन्’, उनले भने, ‘एमाले र माओवादी मिलेर कांग्रेसविरुद्ध मोर्चाबन्दी भयो । जनतालाई लाग्यो हो कि के हो ? गरिहाल्छन् कि भन्ने भयो । भोट दिएर जिताए ।’

‘कांग्रेसले हुने कुरा मात्रै गर्छ । कम्युनिस्टले दिउँसै रात पार्छन् । कम्युनिस्टको तीन वर्ष ब्यहोरेका छौँ’, डा.महतले भने, ‘तीन वर्षमा जनता निरास भएका छन् । काम गर्ने सरकार रहेनछ भन्नेमा जनता पुगेका छन् ।’

नुवाकोट– २ ‘ख’ र काठमाडौं– ५ ‘ख’ आयोजित विरोध सभाहरूमा कांग्रेसका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । काठमाडौं– ५ ‘ख’को विरोध सभामा सभापति शेरबहादुर देउवा आफै उपस्थित भएर सम्बोधन गरेका थिए ।

Published : Saturday, 2021 January 9, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया