छोरी जिताउन प्रचण्डसँग सति गयौँ, खबरदार कम्युनिस्टसँग मिल्ने होइनः तरुण अध्यक्ष बस्नेत

भक्तपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले केपी ओलीले प्रधानमन्त्री बन्दै गर्दानै संविधान उल्लंघन गरेको बताएका छन् ।

नेपाल तरुण दल मध्यपुर थिमि नगर कार्यसमितिले शुक्रबार भक्तपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै बस्नेतले ओलीले सांसद पदको शपथनै नलिएर प्रधानमन्त्री पदको शपथ लिएको बताए । उनले त्यस बेला राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरिएको स्मरण गरेका छन् ।

संविधान विपरित शपथ लिएपछि ओलीले मन्त्रिपरिषद बैठकबाट राष्ट्रिय सभामा तीन जना सांसद सिफारिस गरेको भन्दै उनले कांग्रेसले सिफारिस गरेका तीन जनाको नाम अहिलेसम्म लुकाएर राखिएको बताए । उनले भने, ‘त्यस बेला स्वार्थका लागि कम्युनिस्ट एक भएका थिए । कम्युनिस्ट सरकारसँग सबै डराएका थिए ।’

उनले भ्रष्टाचार, बालुवाटारका जग्गा काण्ड गर्नेहरूलाई कारबाही गर्न तरुणले माग गर्दा कसैले बेवास्ता गरेको बताए ।

‘भ्रष्टाचार भयो, बालुवाटारको जग्गा हिमानामिना भयो, सडकमा बसेर पूर्वप्रधानमन्त्रीजी बालुवाटारको जग्गाको बारेमा बोल्नु पर्दैन ? एउटा व्यक्ति मन्त्री बनेर सरकारमा बस्ने, अर्को व्यक्ति न्यायाधीश बनेर बस्ने ?’, उनले भने, ‘तरुण दलले शुरुदेखि नै सरकारको विरोध गरेको छ । जनताको लागि बोलेको छ । हामीले आन्दोलन गर्दा तरुणहरूलाई गुण्डा भनेर टाउको समेत फुटाए ।’

अहिले आएर ओलीको सरकार कस्तो रहेछ भन्ने कुराको पुष्टि भएको तरुण अध्यक्ष बस्नेतले बताएका छन् । उनले कांग्रेसका नेता कार्यकर्ताको हत्या गरेर झापादेखि कथित जनयुद्धका नाममा हत्या, हिंसा र आतंक मच्चाएर कम्युनिस्टहरू सत्तामा पुगेको बस्नेतले बताए ।

पहिलो संविधान सभामा प्रचण्डलाई जनताले बहुमत दिएको भन्दै तरुण अध्यक्ष बस्नेतले भने, ‘बाबुरामजी तपाई प्रधानमन्त्री बनाएको होइन ? तपाईले खै संविधान दिएको ? अहिले सडकमा दुईजना पूर्व प्रधानमन्त्री छन् । उनीहरूले बहुमतपाएका थिए । प्रधानमन्त्री बनेका थिए । खै संविधानदिएको ? संविधान दिन त्यही बोल्न नजान्ने सुशील कोइराला आवश्यक पर्‍यो ।’

कम्युनिस्टहरूसँग कांग्रेस कुनै पनि हालतमा एकता हुन नहुने बताए । उनले भने, ‘कम्युनिस्ट र विप्लव कम्युनिस्ट वा सडक या सत्तामा रहेका सबै कम्युनिस्ट एक हुनुपर्छ । उनीहरूसँग कांग्रेस एक्लै भिड्छ ।’

कांग्रेसले संविधानको रक्षा र जनताको अधिकारका लागि एक्लै लड्ने अध्यक्ष बस्नेतले बताएका छन् ।

तरुण दलका अध्यक्ष बस्नेतले स्वतन्त्र न्यायापालिकाले कसैको दवाव, डर र धम्कीले संविधानको ब्याख्या हुनुपर्ने बताएका छन् । उनले भने, ‘हामी स्वतन्त्र न्यायापालिकको पक्षमा छौँ । त्यो पुनःस्थापना होला । त्यो चुनावमा जानु पर्ला । कांग्रेस एक्लै लड्नु परेको छ । कम्युनिस्टहरू फेरि पनि एक हुनेछन् । मिलेर चुनाव लड्नेछ ।’

उनले पुलको उद्घाटनको नाममा रामचन्द्र पौडेललाई छ घण्टा थुनेर राखेको बताए । उनले भने, ‘रामचन्द्र पौडेललाई छ घण्टा थुन्दा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल कोही पनि बोलेन । त्यो प्रचण्डलाई चहियो भनेर कांग्रेसले अहिले साथ दिनुपर्ने ? कुममा कुम मिलाउनुपर्ने ? उनको कुममा हामीले पनि जोड्न पर्ने ?’

‘प्रचण्डले कांग्रेसलाई बारम्बार धोका दिएको होइन ? हामीले ल्याएको होइन ८७ सिट दिएर प्रचण्डलाई संसदमा ? गिरिजाबाबुले जंगलबाट ल्याएको होइन ? ८७ सिट दियौँ । सरकारमा ल्याइयो । प्रचण्डले संविधानसभाबाट संविधान बनाउन पनि सकेनन्’, बस्नेतले भनेका छन्’, ‘प्रचण्डको छोरीलाई जिताउँदा कांग्रेस सक्किने अवस्थामा पुग्यो । प्रचण्डको छोरी जिताउँदा कांग्रेस सति गएको होइन ? कार्यकर्ताले भोट हालेका होइनन् ?’

उनले भने, ‘जब प्रचण्डको छोरीको जित भयो अनि के भन्छन् ? कांग्रेससँग मिल्नु हुँदैन रे ? सर्वसत्तावाद लाद्न कम्युनिस्ट एकता रे ! केपी ओलीसँग गएको होइन ? यो प्रचण्डफेरि साथ दिने सडकमा ? कदापि, होसियार कसैले पनि साथ दिनु हुँदैन । एक्लै लड्ने हो । हिजो गल्ती भयो । एउटा कुरा भयो ।’

उनले एक्लै निर्वाचन लड्ने र संघर्ष गर्ने हिम्मत राख्नुपर्ने बताएका छन् । कांग्रेसको आफ्नै संगठन रहेको भन्दै तरुण अध्यक्ष बस्नेतले भने, ‘कांग्रेस एक्लैले राजा फालेको हो । कांग्रेसको शक्ति छ । जनता छन् ।’

भ्रष्ट कम्युनिस्टहरूसँग कुनै पनि हालतमा कार्यगत एकता नहुने उनले बताएका छन् ।

Published : Saturday, 2021 January 9, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया