राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सी खोस्ने गगन थापाको चेतावनी, बालकोटमा बस्ने ठाउँ बनाउन सुझाव

भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले सर्वोच्च अदालतले खुट्ट नकमाएर संसद पुनःस्थापना गर्न सुझाव दिएका छन् ।

नेपाल तरुण दल मध्यपुर थिमि नगर कार्यसमितिले शुक्रबार भक्तपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्च अदालतले संसद विघटनलाई सदर गर्‍यो भने प्रधानमन्त्री केपी ओलीले अदालत पनि गठन गर्न सक्ने तर्क गरेका हुन । उनले संविधानमा संसद विघटन गर्ने अधिकार कुनै पनि ठाउँमा नलेखेको बताए ।

‘सुवास नेम्वाङ भागेर हिँड्नु भएको छ । लुकेर हिँड्नुभएको छ । भागेपनि संविधानले संसद विघटन गर्न भनेको छैन । कुरा सत्य हो’, उनले भने, ‘संसद पाँच वर्षसम्म विघटन गर्न पाइँदैन । कल्पनानै गरिएको छैन ।’

‘ओलीले संसद विघटन गर्ने काम असंवैधानिक हो’, उनले भने, ‘अदालतले संसद विघटन गर्न पाउँछ भन्यो भने ओलीले अदालत पनि गठन गर्न पाउनेछन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो गरिमा गुमाएको कांग्रेस नेता थापाले आरोप लगाएका छन् ।

उनले राष्ट्रपतिले संविधानको रक्षा गर्ने बेला संसद विघटन गरेको बताए । उनले प्रधानमन्त्री ओलीको गुट र ग्याङले संसद विघटन गरेर संवैधानिक संकट ल्याएको बताएका छन्

नेता थापाले संसद विघटनको विरोध गरे । उनले भने, ‘भक्तपुर कांग्रेसको सभापति दुर्लभ थापाले महेश बस्नेतलाई चिठी लेखेर नेकपाको साइबर शाखाको प्रमुखलाई निकालेको भन्नु हुन्छ ।

महेशजीले दुर्लभ थापाजी अनधिकृत भयो भन्नु होला । तपाईले मलाई कहाँ निकाल्न पाउनु हुन्छ ? भनेर प्रश्न गर्न सक्नु हुन्छ । अहिले ओलीले गरेको पनि ठ्याक्कै त्यस्तै हो ।’

थापाले ओलीले संविधानमाथि अपराध गर्दै गर्दा कांग्रेसले टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले संविधानको उल्लंघन गरेको आरोप पनि लगाएका छन् । ‘संविधानलाई ठीक बाटोमा ल्याउने काम हामली गरेका छौँ’, उनले भनेका छन् ।

‘नेकपाले जनतालाई घात गरेको छ’, उनले भने, ‘जनतालाई गाउँमा गएर बताउनेछौँ । ओलीको महत्वकांक्षाले संसद विघटन गरिएको छ ।’

‘कायर प्रधानमन्त्री संसद छिर्ने हिम्मत भएन । कार्की पार्टी प्यालेस जाने प्रधानमन्त्री संसदमा छिर्न सक्दैन । ओलीजी कायर हो’, उनले भने, ‘अर्को नेकपा माइतीघरमा बसेको छ । मैले राष्ट्रपति विद्यादेवी भण्डारी महारानी बन्दै हुनुहुन्छ भन्दै गर्दा तपाईहरू कहाँ हुनुहुन्थ्यो ?’

उनले अहिलेको अवस्थाको जिम्मेवार प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खना, वामदेव गौतम पनि रहेको बताए । उनले सर्प पार्ने नेता, प्लेन हाँक्ने एउटा अध्यक्षले देशलाई बिगारेको बताए ।

प्रचण्डलाई चितवनबाट हार्ने डर र ओलीलाई बहुमत नपाउने डरले गर्दा नेकपा बनेको भन्दै नेता थापाले नेकपाले यो अहिलेको अवस्था ब्यहोर्ने थियो भन्ने पक्का रहेको उल्लेख गरेका छन् ।

‘राजा र वीपीसँग नडराएको अदालत खरो उत्रिनेछ भन्ने मलाई विश्वास छ’, कांग्रेस नेता थापाले भनेका छन्, ‘अदालतले संसद विघटन गर्ने निर्णय खारेज गर्नेछ । संसद आयो भने राष्ट्रपतिलाई पनि घर पठाउँछ । सूर्यविनायकको मेयर र यहाँको सांसदले (महेश बस्नेत) ‘बा’ (केपी ओली)लाई ल्याएर बालकोटमा राख्नुस् ।’ उनले संसद विघटन गर्ने निर्णय सर्वोच्चले खारेज गरेपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई घर पठाउने बताए ।

नेता थापाले कांग्रेसले निर्वाचनको तयारी गर्ने बताएका छन् । उनले भने, ‘निर्वाचनको तयारी निरन्तर रुपमा गर्ने छौँ ।’

कांग्रेसले सर्वोच्च अदालतेका निर्णय पर्खिएर नसबेको बताएका युवा नेता थापाले भने, ‘कांग्रेसले संसद विघटन गर्ने निर्णय चिन्दैन । सर्वोच्च अदालतका श्रीमानहरूले संविधान पल्टाएर हेरे हुन्छ । राष्ट्रपति र प्रधानमन्त्रीले सम्मान गुमाउनु भएको छ । सर्वोच्च अदालतले पनि सम्मान नगुमाउनुस् भन्ने हो ।’

प्रधानमन्त्री ओलीले अदालतलाई मनोवैज्ञानिक दवाव दिएको भन्दै थापाले राजासँग नडराएको अदालतलाई बरालिएको राष्ट्रपति र प्रधानमन्त्रीलाई ठीक ठाउँमा ल्याउन सुझाव दिएका छन् ।

Published : Friday, 2021 January 8, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया