उप–प्रधानमन्त्रीका सम्धीको पद फुत्कियो, अर्थमन्त्रीले मतलव गरेनन्

काठमाडौं । उप–प्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी समेत रहेका राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका सदस्य डा.उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार बसेको वाणिज्य बैंकको सञ्चालक समितिको बैठकले धनीराम शर्मालाई अध्यक्षमा नियुक्त गरेपछि असन्तुष्ट बनेर डा.कोइरालाले पदबाट राजीनामा दिएका हुन् । डा.कोइरालालाई उप–प्रधानमन्त्री पोखरेल र तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले सञ्चालक समितिको अध्यक्ष बनाउने गरेर सदस्यमा नियुक्त गरेका थिए ।

डा.कोइरालाले अर्थ मन्त्रालयलाई आफ्नो राजीनामा पत्र बुझाएकाे बताएका छन् । अर्थमन्त्री पौडेलले शर्मालाई बैंक अध्यक्ष बनाएका छन् ।

डा.कोइरालालाई भदौमा तत्कालीन अर्थमन्त्री डा.खतिवडाले मन्त्रिस्तरीय निर्णय गरेर सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका थिए । आफ्ना सम्धी डा.कोइरालालाई सदस्यमा नियुक्त गरेको भन्दै उप–प्रधानमन्त्री पोखरेलको आलोचना भएको थियो ।

डा.कोइराला २०५१ सालपछि कुनैन कुनै राजनीतिक नियुक्ति पाउने प्रभावशाली व्यक्ति मानिन्छन् ।

उनले खाद्य संस्थानको महाप्रबन्धक, क्याम्पस प्रमुख, उप–कुलपति नियुक्तिलगायतका नियुक्तिहरू पाइरहेका छन् ।

डा.कोइराला २०५१ सालमा एमालेको ९ महिने सरकारका पालामा नेपाल खाद्य संस्थानको महाप्रबन्धक नियुक्त भएका थिए । उनी २०५४ देखि २०५६ सालसम्म महेन्द्र मोरङ क्याम्पस प्रमुख नियुक्त भएर बसेका थिए ।

क्याम्पस प्रमुखको कार्यकाल पूरा भएपछि उनी २०५९ साल नेपाल आयल निगमको महाप्रबन्धक नियुक्त भएका थिए ।

२०६४ सालमा उनी पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदमा उपाध्यक्ष नियुक्त भएका थिए । उनी एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति थिए ।

Published : Friday, 2021 January 8, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया