कपिलवस्तुमा कांग्रेस नेताले बनाएको सडक कम्युनिस्ट मुख्यमन्त्रीद्वारा जबरजस्ती उद्घाटन

चन्द्रौटा । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले कपिलवस्तुमा निर्माण गरेको बाटोलाई उद्घाटन गर्न गएका लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको कांग्रेसका नेता कार्यकर्ताले विरोध गरेका छन् ।

विजयनगर गाउँपालिकाको खरैचामा बिहीबार सडक उद्घाटन गर्न मुख्यमन्त्री पोखरेल पुगेपछि विरोध भएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य शाहले आफूले बजेट पारेर निर्माण गरेको ससडक आफूले नै उद्घाटन गर्न पाउनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलको चर्तिकलाको विरोध गरेका छन् ।

नेपाल तरुण दल कपिलवस्तुका सचिव अमर पौडेलको नेतृत्वमा दीपेन्द्र चौधरी, गम्मे चौधरी, डीएम त्रिपाठीलगायतले कम्युनिस्ट मुख्यमन्त्री पोखरेललाई सडक उद्घाटन गर्न नदिने प्रयास गरेका थिए ।

उनीहरूले मुख्यमन्त्री पोखरेललाई कालो झण्डा देखाउने प्रयास समेत गरेका छन् । तर, प्रहरीले बल प्रयोग गरेर कालो झण्डा देखाउन दिएन ।

विघटित प्रतिनिधि सभाका सांसद समेत रहेका कांग्रेसका युवा नेता शाहले कृष्णनगरदेखि प्यूठान जोड्न निर्माण भएको यो बाटोका लागि करीव १७ करोड रुपियाँ सरकारबाट ल्याएर लगानी गरेका छन् ।

०३२ सालमा नेपाल सरकार र अमेरिकी सरकारको संयुक्त पहलमा यो सडक निर्माण शुरु भएको थियो । कांग्रेस नेता शाहले सडकलाई रणनैतिक महत्वमा राखेर बेलाबेला बजेट पार्दै आएका थिए ।

सडकको उद्घाटन कांग्रेस नेता शाहले गर्नुपर्नेमा कम्युनिस्ट मख्यमन्त्री पोखरेल कांग्रेसले बनाएको सडक उद्घाटन गर्न आएपछि विरोध भएको हो ।

सडक बनाउन शाहले आफ्नो संसद विकास कोषको एक करोडभन्दा धेरै रकम पनि दिएका थिए ।

Published : Thursday, 2021 January 7, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया