नेकपाभित्रको भाँडभैलोपछि अर्का मन्त्रीले पनि राजीनामा दिए

काठमाडौं । नेकपा विभाजन भएर तरंग उत्पन्न भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारकाका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी ओली निकट मानिने मन्त्री बोहराले बुधबार दिउँसो धनगढीमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएपछि मन्त्री बोहराले पनि पदबाट राजीनामा दिएका छन् ।

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट निर्वाचित भएका थिए ।

माओवादी केन्द्रबाट वामगठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्री बनाएका थिए ।

ओली समूहमा बोहरासहित पूर्वभौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिह बोहरा, प्रदेशसभा सदस्य नेपालु चौधरी, लीलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा खुलेर लागेका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसदमध्ये १२ कांग्रेसका, २ जनता समाजवादी पार्टीका छन् । बाँकी ३९ जना नेकपाका सांसद रहेका छन् ।

Published : Wednesday, 2021 January 6, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया