ओलीकै शक्तिशाली मन्त्रीले अर्को दल दर्ता गर्दै, पार्टीको विधान तयार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदय त्रिपाठी नेतृत्वको ‘स्वतन्त्र राजनीतिक समूह’ राजनीतिक दलका रुपमा दर्ता हुने भएको छ ।

मन्त्री त्रिपाठीका अनुसार समूहलाई केही दिनभित्र निर्वाचन आयोगमा दर्ता गरिनेछ । समूहमा आवद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल, ईश्वर दयाललगायतका नेताहरूको मंगलबार काठमाडौंमा बसेको बैठकले राजनीतिक दलका रुपमा दर्ता गर्ने निर्णय गरेको त्रिपाठीले बताए ।

स्वतन्त्र राजनीतिक समूहलाई दलका रुपमा दर्ता गर्ने भएपछि पार्टीका विधान बनाउनेदेखिका कामहरू भइरहेका छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक दल रहेको भन्दै मन्त्री त्रिपाठीले नेकपासँग पार्टी एकता गर्नेभन्दा पनि आफूहरू दलको रुपमा स्थापित हुन लागेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा त्रिपाठीले नेकपासँग पार्टी एकताका लागि राजनीतिक मुद्धामा कुरा नमिलेको एकीकरण अगाडि नबढेको बताए ।

समूहका तर्फबाट त्रिपाठी मन्त्री बनेका छन् । उनले यसअघि संघीय मालिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

हृदय त्रिपाठी

संसद विघटन भएपछि मन्त्रिमण्डल पुनः गठन हुँदा त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

‘सूर्य’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका त्रिपाठीले संसद विघटनपछि पनि मन्त्री पद कब्जा गरेर बसेका छन् । उनले बृजेशकुमार गुप्तालाई मन्त्री बन्न पालो दिनुपर्ने थियो । तर, त्रिपाठीले गुप्तालाई मन्त्री बन्ने मौका नै दिएका छैनन् ।

स्वतन्त्र राजनीतिक समूहभित्र पनि त्रिपाठीको दब्दबा छ । त्रिपाठीले अन्य नेताहरूलाई अवसर नदिएपछि समूहभित्रै विवाद रहेको एक नेताले बताएका छन् ।

Published : Wednesday, 2021 January 6, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया