कांग्रेसले भागबण्डा खोजेको होइन, संवैधानिक अधिकार मागेको छः डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले प्रमुख प्रतिपक्ष दलले भागबण्डा खोज्यो भनेर सत्तारुढ दलबाट भ्रम फिजाइरहेको आरोप लगाएका छन् ।

बुधबार बिहान एउटा अन्तर्वार्ताका क्रममा डा.महतले लोकतन्त्रलाई बलियो बनाउन संवैधानिक व्यवस्थाअनुसारको माग र अडान राख्दा कांग्रेसलाई भागबण्डा माग्यो भनेर प्रचारबाजी गरिएको बताए । उनले प्रमुख विपक्षी दलको हैसियतले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको विषयलाई अन्यथा लिन नहुने बताए ।

‘प्रमुख प्रतिपक्ष दलको नेताले प्रधानमन्त्रीलाई भेट्छ । सत्ता समीकरणको कुरा भ्रम फैलाइएको छ’, उनले भने, ‘सत्ता पक्षका केही व्यक्तिले निहीत स्वार्थका लागि कांग्रेसविरुद्ध भ्रमहरू फैलाइरहेका छन् ।’

सह–महामन्त्री डा.महतले संवैधानिक निकायहरूमा रिक्त पदमा संवैधानिक व्यवस्थाअनुसार कांग्रेसले ‘चेक एण्ड ब्यालेन्स’का लागि भाग स्वतः पाउने बताए ।

‘अहिले संवैधानिक निकायहरू खाली छ । त्यसलाई निस्तेज पारिएको छ । आफ्नो छायाँको रुपमा रुपान्तरण गर्न खोजिएको छ’, डा.महतले भने, ‘त्यो पनि हाम्रो चासोको विषय हो ।’

‘निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायहरू सरकारले भनेअनुसार चल्ने हो भने निर्वाचनमा भाग लिनुको अर्थ के छ ?’, उनले प्रश्न गर्दै भने, ‘निर्वाचन आयोगले सरकारमा बस्नेहरू जे गर भन्छन् त्यो मान्न थाल्यो भने लोकसेवाले त्यही गर्न थाल्यो भने, अख्तियारले त्यही गर्न थाल्यो भने यो देशमा लोकतान्त्रिक पद्धति नाम मात्रको रहन्छ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले भनेका छन्, ‘त्यसलाई त्यसै संवैधानिक निकाय भएको होइन । सरकारको आदेशमा काम गर्ने होइन कि, सरकारभन्द अलग स्वतन्त्र रहेर स्वतन्त्र रुपमा कार्यसम्पादन गर्ने जिम्मेवारी संविधानले संवैधानिक आयोगहरूलाई दिएको छ । ती परिपूर्ति गर्ने सवालमा प्रमुख विपक्षी दललाई यत्तिकै सदस्य हुने व्यवस्था गरिएको होइन । विपक्षी दलको चासो र चिन्ता त्यहाँ हुन्छ । चासो राख्नुपर्छ । त्यसैअन्तर्गत पार्टी सभापतिले कुरा गर्नुभएको हो ।’

डा.महतले कांग्रेसले संविधान कार्यान्वयन र लोकतन्त्रलाई बलियो बनाउन खेल्ने भूमिकालाई लिएर सत्तापक्षबाट भागबण्डा खोज्यो भनेर गरिएको प्रचारबाजीलाई निस्तेज पार्न पार्टीका नेता कार्यकर्ताहरूलाई अपील गरेका छन् । उनले कांग्रेसलाई बद्नाम गर्न खोज्ने कार्य कदापि स्वीकार्य नहुने बताएका छन् ।

‘कस्तो भाग बण्डा खोज्यो भनेको ? एकातिर हामी के भन्दै छौँ भने निर्वाचन आयोगले निष्पक्ष निर्वाचन सम्पन्न गर्नुपर्छ । खाली त्यो कांग्रेसको मात्रै चासो हो ?’, उनले प्रश्न गर्दै भने, ‘देशभरि पार्टीहरूले भाग लिन्छन् । उम्मेदवारहरू हुन्छन् । त्यो निष्पक्ष ढंगबाट निर्वाचन हुनु प¥यो कि परेन ? त्यसमा हामीले चासो नराख्ने ? त्यसलाई पनि भागबण्डामा सामेल हुन थाल्यो कांग्रेस भनेर मूल विषयमा चासो नलिओस् भन्ने कुरा पनि हुन्छ ?’

‘अख्तियारमा उनीहरूले मनपरि गर्ने, उनीहरूले चाहेकोलाई केस नभए पनि केस लगाइदिने, उनीहरूको ठूला–ठूला भ्रष्टाचार गरे पनि आँखा चिम्लेर बस्नेत । अहिले त्यही त भएको छ’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘भ्रष्टाचार भइरहेको छ, ओम्नी काण्डदेखि स्वास्थ्य सामग्री खरिद प्रकरणमा भइरहेको छ । अख्तियारले केही गरेको छैन’, उनले भनेका छन् ।

‘स्वतन्त्र रुपमा कार्यसम्पादन नगर्ने हो भने हामीलाई मतलब छैन जेसुकै गरोस् भनेर प्रमुख विपक्षी दल चुप लागेर बस्ने हो भने अनि यो सरकारले मनपरि गर्दैन ?’, उनको प्रश्न छ ।

‘ओलीजीले त्यही गर्न खोजेको होइन अस्तिन पनि यो संवैधानिक निकायको बारेमा पनि, नियुक्तिको बारेमा एकलौटी गर्नलाई अध्यादेश ल्याउन खोजेको होइन ? हामीले विरोध गरेको होइन ?’, उनको प्रश्न छ ।

डा.महतले कोरोना र लकडाउनलाई प्रधानमन्त्री ओलीले सत्ता बचाउने रक्षाकवच बनाएको आरोप लगाएका छन् । ‘कमिशनमा मात्रै ध्यान दिइएको छ । सरकारको कार्यशैलीमा परिवर्तन हुने अवस्था देखिदैन’, डा.महतले भने, ‘हाम्रो विरोधको शैली दवाव मुलक बनाएर लैजानुपर्छ । दुई वर्षमा निर्वाचन हुन्छ । जनताले नै उनीहरूलाई परास्त गर्नुपर्छ ।’

‘जनता निर्णायक हुन् । ओली सरकारको बारेमा जानतालाई भन्नुपर्छ’, उनले भने, ‘यो सरकारले जनताको कुरा सुनेको छैन । जनतालाई धोका दिने पार्टी नेकपालाई अभिमत दिनु हुँदैन ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले जनताको अभिमतका लागि नेता कार्यकर्ताले विशेष अभियान र संगठन गर्नुपर्ने बताएका छन् ।

‘नेकपा फुट्ला र कांग्रेसले बहुमत पाउँला भनेर हामीले सोँचेका छैनौँ । कांग्रेसले आफै जनताको बीचमा गएर काम गर्नुपर्छ । संगठन गर्नुपर्छ’, उनले भनेका छन् ।

‘कम्युनिस्टहरू सिद्धान्तमा होइन भागबण्डामा चलेका छन् । उनीहरू भागबण्डा गरेर मिल्छन् । कम्युनिस्टहरू सत्ताका लागि आसक्त छन्’, डा.महतले भने, ‘विपक्षी दल चुप लागेर बस्ने हो भने ओली सरकार मनपरि गर्छ ।’

Published : Wednesday, 2020 December 9, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया