अधिनायकवादी सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन तरुणहरूलाई निर्देशन

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेसले गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन देशभरिका तरुणहरूलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार ७७ वटै जिल्लाका तरुण अध्यक्षहरूलाई परिपत्र गर्दै भ्रष्ट र अधिनायकवादी ओली सरकारविरुद्ध सशक्त रुपमा सहभागी हुन निर्देशन दिएका हुन् ।

‘वर्तमान कम्युनिष्टको ओली सरकारको अधिनायकवादी चिन्तन र चरित्रका कारण देश र जनताले भोग्नु परेको प्रसव पीडाको साथै तनहुँ जिल्लामा गत १७ गते सरकारले देखाएको दमनकारी व्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद भएको छ’, परिपत्रमा भनिएको छ ।

‘पक्षपात र सर्वसत्तावादी प्रवृति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचार भएको छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

उनले ‘अनेकन भ्रष्टाचार काण्ड र वेथितिविरुद्ध यही मंसिर २९ गते नेपाली कांग्रेस पार्टीले ७७ वटै जिल्लामा गर्ने विरोध प्रदर्शनलाई भव्य रुपमा सफल पार्न त्यस जिल्ला समितिले नेपाली कांग्रेस जिल्ला कार्यसमितिसंग समन्वय गरी आफू र आफु मातहतका सम्पूर्ण समितिहरूलाई कृयाशील र परिचालन गरि व्यापक सहभागिता गराउन यो परिपत्र गरिएको छ ।’

नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध मंसिर २९ गते देशभरि प्रदर्शन गर्दै छ ।

Published : Tuesday, 2020 December 8, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया