कांग्रेस नेता मल्लद्वारा पार्टी कार्यालय बनाउन दश लाखको जग्गा प्रदान, जलजलामा विशेष अभियान

लामाखेत । नेपाली कांग्रेस जलजला गाउँपालिका कार्यसमिति पर्वतले हरेक टोलमा कार्यसमितिहरू गठन गर्ने भएको छ ।

टोल–टोलका जनतासँग सुखदुःखमा सँगै रहने प्रतिबद्धतासहित कांग्रेसले कार्यसमितिहरू बनाउन लागेको हो । कांग्रेस आफूले गरेका राम्रा कामको प्रचार–प्रसार गर्न, नराम्रा कामको खबरदारी र हरेक घरपरिवारमा आयआर्जन तथा उत्पादानसँग जोड्न कार्यसमितिहरू गठनमा लागेको छ ।

नेपाली कांग्रेस जलजला गाउँपालिकाले सोमबार वडा नम्बर ४ बाट अभियान शुरु गरेको जनाएको छ ।

नेपाली कांग्रेस पर्वतका युवा नेता एवम् कोषाध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’को विशेष उपस्थितिमा विशेष बैठक बसेको छ । मल्लले वडा नम्बर ४ बाट विशेष अभियान सञ्चालन गरेका छन् ।

कांग्रेसका युवा नेता मल्ल जलजला गाउँपालिकाका अध्यक्ष समेत हुन् । नेता मल्लले अब हरेक जनतालाई कांग्रेसले उत्पादनसँग जोड्न प्रेरित गर्ने बताएका छन् । ‘सधैँभरि जनता पार्टीको पछि मात्रै हिँड्ने होइन, पार्टीले उत्पादनसँग जोड्नुपर्छ’, उनले भने, ‘हरेक जनतालाई आयआर्जनमा जोड्नका लागि प्रेरित गर्नुपर्छ । हामीले त्यही अभियान थाल्छौँ ।’

कांग्रेस नेता मल्लले टोल कार्यसमितिहरू गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । जलजला गाउँपालिकाको ९ वटा वडामा कार्यसमितिहरू बनाइने उनले बताए । कार्यसमितिले टोलहरूमा हुने समस्यालाई समाधान गर्न पहल गर्नेछ ।

नेपाली कांग्रेस जलजला गाउँपालिका–४ को कार्यसमितिको कार्यालय भवन समेत निर्माण गर्ने निर्णय भएको युवा नेता मल्लले बताएका छन् । भवन निर्माणका लागि मल्लले पाँच आना जग्गा प्रदान गर्ने घोषणा गरेका छन् ।

मल्लले झण्डै १० लाख मूल्य बराबरको जग्गा कांग्रेसको वडा कार्यालय बनाउन निःशुल्क प्रदान गरेका हुन् ।

मल्लले यसअघि नेपाली कांग्रेस जलजला गाउँपालिका कार्य समितिको भवनका लागि गाउँपालिकाबाट २० लाख र आफ्नो ब्यक्तिगत तर्फबाट पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ प्रदान गरेका छन् ।

मल्लकै पहलमा मोहनचोकमा मोहनबहादुर मल्ल परिवारबाट झण्डै ९० लाख बराबरको जग्गा नेपाली कांग्रेस जलजलाका लागि प्राप्त भएको थियो ।

डेढ करोड लगानीमा उक्त जग्गामा निर्माण हुन लागेको भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

युवा नेता मल्लले नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय (वीपी स्मृति भवन) निर्माणका लागि गाउँपालिकाबाट २० लाख रुपियाँ र आफ्नो ब्यक्तिगत तर्फबाट पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ प्रदान गरेका छन् ।


नेता मल्लले पार्टीभित्रको विवाद मिलाउन शीर्ष नेतृत्वलाई सुझाव पनि दिएका छन् । उनले कांग्रेसका नेताहरूको विवाद लिएर गाउँ नजान चेतावनी दिएका छन् ।

अधिवेशनको बेला मात्रै गाउँ जाने तर, अन्य समयमा गाउँका कार्यकर्ता र जनताको अवस्था कहिल्यै नबुझ्ने परिपाटी बढेको भन्दै मल्लले चिन्ता जनाएका छन् ।

नेता मल्लले केपी ओली नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको भन्दै कम्युनिस्टहरू असफल भएको बताएका छन् ।

बैठकमा वडाध्यक्ष भीष्म मल्ल, वडा सभापति मेघनाथ पौडेल, सचिव प्रकाश मल्ल, खड्गराज कार्की, लोकबहादुर जिसी, डम्बरबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2020 December 7, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया