आफ्नै दल नेकपाका विरोधीहरू तर्साउन ओलीको अर्को रणनीति

काठमाडौं । पार्टीभित्रैबाट चरम असहयोग भइरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने थापाले बताएका छन् ।

‘प्रधानमन्त्रीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ’, सल्लाहकार थापाले भनेका छन् ।

नेकपाभित्र ओलीलाई असहयोग हुँदै आएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि सरकारले काम गर्न नसकेको भनेर आलोचना गर्दै आएको छ ।

कोरोना महामारीका बेला चरम भ्रष्टाचार भएको भन्दै कांग्रेसले संसदको बैठक बोलाउन पनि दवाव दिँदै आएको छ । कांग्रेसले मंसिर २९ गते देशभरि ओली सरकारविरुद्ध प्रदर्शन गर्दै छ ।

राजसंस्था र हिन्दूराष्ट्रको माग गरेर दिन प्रतिदिन सडकमा प्रदर्शनहरू बढ्दै गएका छन् । यस्तो बेला ओलीले संसदमा प्रतिनिधि गर्ने दलहरूको बैठक बोलाएका हुन् ।

Published : Monday, 2020 December 7, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया