कम्युनिस्ट वडाध्यक्ष मण्डलको अध्यक्ष पद फुत्कियो

जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिका–१३ का वडाध्यक्ष शुभनारायण मण्डलको अध्यक्ष पद फुत्किएको छ ।

तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष मण्डलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर भएपछि निलम्बनमा परेको हो ।

मण्डल निलम्बनमा परेपछि वडा सदस्य भारती सिंहलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको छ ।

वडाध्यक्ष मण्डल अख्तियारको कारवाहीमा परेपछि निलम्बन भएका हुन् ।

सेवाग्राहीको काम कारवाही सहजताका लागि २०७७ मंसिर १७ गतेको निर्णयानुसार बिहीबारदेखि लागू हुने गरि निलम्बित वडाध्यक्ष मण्डल फुकुवा नभएसम्म सिंहलाई कार्यवाहक अध्यक्ष तोकिएको छ ।

असोज १५ गते वडा नं. १३ का कार्यालय सहयोगी दिलीपकुमार पञ्जियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिएवापत सेवाग्राहीसँग २४ हजार रुपियाँ घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा वडाध्यक्ष मण्डल र कार्यालय सहयोगी पञ्जियारको मिलोमतो देखिएको थियो ।

उनीहरूको मिलेमतोमान सेवाग्राहीको नागरिकता बनाउन वडाबाट सिफारिस पत्र दिने प्रयोजनको लागि वडाध्यक्षले भनेअनुसार नै पञ्जियारले घुस रकम बार्गेनिङ गरी लिएको तथ्य प्रमाणसहित पुष्टि भएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले दुवैजनालाई जनही २४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

Published : Sunday, 2020 December 6, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया