फागुनभित्रै कांग्रेसको महाधिवेशन होला ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन फागुनभित्रै गर्न दवाव परिरहेको छ । सभापति शेरबहादुर देउवाले कोरोना महामारीलाई देखाएर कार्यकाल कम्तीमा छ महिना बढाउन खोजेका छन् । देउवाको त्यो रणनीति बुझेका रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतको समूहले फागुनभित्रै महाधिवेशन गर्न दवाव दिएका छन् ।

महाधिवेशन फागुन महिनाभित्रै हुने संकेत देखेपछि नेताहरू जिल्ला भ्रमणमा छन् । विशेष गरेर कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरू जिल्लामा पुगेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासरत छन् । कांग्रेसले गत पुस ११ गतेको केन्द्रीय कार्यसमितिबाट फागुन ७—१० मा महाधिवेशन गर्ने गरी ल्याएको कार्यतालिका कोरोना महामारी र पार्टीभित्रको आन्तरिक कलहले प्रभावित भइसकेको छ ।

कात्तिक २८ गतेको केन्द्रीय समिति बैठकले मंसिरभित्र क्रियाशील सदस्यता वितरणको काम सक्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो । केन्द्रको त्यो निर्देशनले नेताहरूले काठमाडौं उपत्यका छाड्न थालेका हुन् । महाधिवेशन फागुनभित्र होला वा नहोला तर, नेताहरू आफ्नो पक्षमा माहोल बनाउन लागेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेत, डा. नारायण खड्का, डा.शेखर कोइराला, शंकर भण्डारी, योगेन्द्र चौधरी, गगन थापा, रामहरि खतिवडा, डा.अमरेशकुमार सिंह, राजु खनाललतायतका नेताहरूले विभिन्न जिल्लाको भ्रमण गरिसकेका छन् । उनीहरूले जिल्लाको भ्रमणलाई बाक्लो बनाएका छन् । केही नेताहरू विभिन्न जिल्लाको भ्रमण सकेर काठमाडौं फर्किएका छन् । केही नेताहरू जिल्लामै छन् ।

उप–सभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य प्रकाशमान सिंहले पनि आफूलाई नेता कार्यकर्ताका बीच सम्पर्कमा लगेका छन् । उनीहरूले सभापतिमा आफूलाई मत मागरिरहेका छन् । नेतृ सुजाता कोइरालाले पनि गिरिजाप्रसाद कोइराला फाउण्डेशनमार्फत आफूलाई १४औँ महाधिवेशनमा केन्द्रित बनाएकी छिन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि आफूलाई महाधिवेशन केन्द्रित बनाएका छन् । उनले नेता कार्यकर्ताहरूसँग विभिन्न माध्यमबाट सम्पर्कमा छन् ।

कांग्रेसले स्थानीय तहका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्र गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ । त्यसका लागि क्रियाशील सदस्यता वितरण गर्नुपर्नेछ ।

सभापति देउवालाई आफ्नै गुटका उप–सभापति निधिले दिक्क लगाएका छन् । निधिले बानेश्वरस्थित निवासबाट सभापतिका लागि आफूलाई भोट मागरिरहेका छन् । देउवालाई १४औँ महाधिवेशनमा सभापति बन्न निधिले सहज रुपमा दिन्छन् भन्ने छैन । निधिले आफू कुनै पनि हालतमा सभापति पदबाट पछाडि नहट्ने जनाइसकेका छन् ।

पौडेल–कोइराला समूह पनि अलमलमा छ । उनीहरूले पनि कसलाई सभापति बनाउने भन्ने विषयमा एक हुन सकिरहेका छैनन । यस्तो अवस्थामा १४औँ महाधिवेशनमा नयाँ समीकरण बन्ने पक्का छ ।

सभापति देउवाले ४७ वटा केन्द्रीय विभागमध्ये २० वटा गठन गरिसकेका छन् । विभागमा देउवाले आफू निकटका झण्डै नौ सय नेता कार्यकतालाई काम दिएका छन् । विभागमा पौडेल–कोइराला समूह पनि परेका छन् ।

१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षले जिल्ला सभापतिमा बलियो उपस्थिति जनाएको थियो । ७७ जिल्ला सभापतिमध्ये देउवासँग करीव ४५ जना छन् । बाँकी सभापतिहरू पौडेल–कोइराला समूह तथा सिटौला समूह निकटका छन् ।

Published : Saturday, 2020 December 5, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया