कांग्रेसको शक्तिसामु तनहुँमा अधिनायकवादी कम्युनिस्टहरूले घुँडा टेकेरै छाडे

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने बताएका छन् ।

गृहजिल्ला तनहुँको व्यास नगरपालिका तालघारेस्थित बुल्दी खोला बिहीबार पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पौडेलले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको समेत बताएका हुन् ।

उनले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन । त्यो हिजोको घटनाले पनि देखाएको छ ।’
‘कुनै कारण, कुनै औचित्य पनि नभएको तर, पुल उद्घाटन कार्यक्रमलाई बिथोल्न निषेधाज्ञा जारी गरेर मलाई धरपकड गरियो’, पौडेलले भने, ‘यो लोकतन्त्रमाथिको नांगो नाच हो ।’

‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन । यो सिद्ध भएको छ’, नेता पौडेलले भने, ‘लोकतन्त्र संस्थागत गर्न अझै बाँकी छ, आजको यो हाम्रो उपस्थितिले त्यहीँ संकेत गरेको छ, अब आन्दोलनको सुरुवात भएको छ ।’

उनले भने, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सही रूपमा चरितार्थ नगरी, परिवर्तनलाई साकार नगरी अब यो आन्दोलन रोकिँदैन ।’

नेता पौडेलले भनेका छन्, ‘लोकतान्त्रिक समाजवादका लागि अब हामी आन्दोलन अगाडि बढाउछौं, पक्षपातका विरुद्ध आन्दोलन गर्छौं ।’

नेता पौडेलले अब गरिने आन्दोलन अख्तियारलाई पनि ठेगान लाउने आन्दोलन हुने बताए । उनले सर्वसत्तावादको विरुद्ध संघर्ष गरिने बताए ।

उनले न्यायिक निकायलाई पनि सावधान गर्ने आन्दोलनको आवश्यकता रहेको बताए । कांग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार उद्घाटन गर्न नपाएको पुल बिहीबार सयौं कार्यकर्तासहित पुलको उद्घाटन गरेका छन् ।

बिहीबार पुलको उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

सत्ता र शक्तिको दुरुपयोग गरी उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको पुल उद्घाटन कार्यक्रममा सहभागी कांग्रेसका नेताहरूले बताएका छन् ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, ध्रुव वाग्लेलगायतका नेताहरूले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचारप्रति खेद व्यक्त गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्धको आन्दोलन जारी रहने बताएका छन् ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले जबरजस्त रुपमा कम्युनिस्ट सरकारलाई घुँडा टेकाइदिएका छन् । पुल उद्घाटन गर्न नदिने कम्युनिस्ट सांसद किसान श्रेष्ठसहितका कम्युनिस्टहरू पराजित भएका छन् । तनहुँमा कांग्रेसको एकताको शक्ति देखेर अधिनायकवादी कम्युनिस्टहरू तर्सित बनेको नेताहरूले बताएका छन् ।

Published : Thursday, 2020 December 3, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया