ओलीले बैठक बहिस्कार गरेकै दिन झापामा नेकपामा पहिरो, विश्वप्रकाशद्वारा भव्य स्वागत

दमक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा रहेका बेला अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्ला झापामा नेकपाभित्र पहिरो गएको छ ।

बुधबार बुद्धशान्ति गाउँपालिकामा नेकपाका ३ सय ६५ जना स्थानीय नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले स्वागत गरेका हुन् ।

शर्माले नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरेकाहरूलाई पार्टीको सदस्यता प्रदान गर्नुका साथै कार्यक्षमताका आधारमा उपयुक्त जिम्मेवारी दिने बताएका छन् ।

‘प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यूको गृहजिल्ला झापाको बुद्धशान्ति गाउँपालिकामा ३ सय ६५ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ’, शर्माले भने, ‘नवप्रवेशी साथीहरूलाई मैले कांग्रेसको सदस्यता दिएको छु ।’

प्रवक्ता शर्माले नेकपा र झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले संविधान र लोकतन्त्रविरुद्धका गतिविधि गरिरह्यो भने देशभरि नेकपाका नेता कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्ने बताए ।

‘झापामा प्रधानमन्त्री ओलीको दललाई छाडेर नेकपाका कार्यकर्ता कांग्रेसमा आउनुभएको छ’, उनले भने, ‘विकास गर्ने कुरामा विवाद सिर्जना गरेर आक्रमणहरू गर्ने हो भने प्रधानमन्त्रीजीका कार्यकर्ताहरू देशभरिबाट एकसाथ कांग्रेसमा प्रवेश गर्नु हुनेछ । समयमा सुध्रिनुस् ।’

बुधबार बालुवाटारमा बस्ने भनिएको नेकपाको सचिवालय बैठक ओलीले बहिस्कार गरेका थिए ।

ओलीले सचिवालयको बैठक बहिस्कार गरेकै बेला गृहजिल्ला झापामा उनका नेता कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

Published : Thursday, 2020 December 3, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया