कांग्रेसलाई पुल उद्घाटन र प्रदर्शन गर्न दिन्नः तनहुँका सीडीओ

काठमाडौं । तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले नेपाली कांग्रेसलाई पुल उद्घाटन र तनहुँमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन् ।

बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा सीडीओ आचार्यले कांग्रेस नेता पौडेललाई पुल उद्घाटन गर्न नदिने बताए । उनले कांग्रेसलाई तनहुँमा प्रदर्शन गर्न पनि नदिने बताएका छन् ।

सीडीओ आचार्यले सम्भावित ठूलो दुर्घटना रोक्नका लागि निषेधाज्ञा लागू गरेर वरिष्ठ नेता पौडेललाई तीन घण्टा नियन्त्रणमा लिएर छाडिएको बताए ।

उनले केन्द्र सरकारको निर्देशनमा पुल उद्घाटन गर्न नदिएको बताए । ‘केन्द्र सरकारबाट निर्माण भएको ठेक्का हो । समन्वय नगरेर उद्घाटन गर्न खोजिएको रहेछ’, सीडीओ आचार्यले भने, ‘ती कार्यालयहरूले लिखित रुपमा भनेपछि मैले रोकेको हुँ ।’

‘अर्को पक्ष राष्ट्रिय युवा संघले रोक्न भनेर मेरो कार्यालयमा घेराउ र नाराबाजी भयो’, उनले भने, ‘निषेधाज्ञा लागू भएको थियो । उल्लंघन गरेपछि रामचन्द्र पौडेललाई नियन्त्रणमा लिइएको हो ।’
प्रमुख जिल्ला अधिकारीले आचार्यले प्रधानमन्त्रीको निर्देशनमा कांग्रेसका नेता पौडेललाई पक्राउ नगरिएको बताए ।

‘नेकपाका कार्यकर्तालाई पनि पक्राउ गरेका छौँ । सम्भावित झडपलाई रोक्न निषेधाज्ञा लागू गरिएको हो’, उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयले रोक्न भनेर पठाएको मसँग चिठी छ ।’

नेकपाका सांसद किसान श्रेष्ठको बचाउ गरेका सीडीओ आचार्यले भने, ‘सांसद किसान श्रेष्ठको कुनै संलग्नता छैन ।’

‘राष्ट्रिय युवा संघले प्रतिकार गर्ने भनेको थियो । त्यहाँ ठूलो जोखिम हुने संभावना थियो’, उनले भने, ‘विभिन्न पक्षबाट पौडेललाई आक्रमण गर्ने योजना थियो ।’

आचार्यले सरकारको निर्देशनलाई आफूले मान्ने बताएका छन् । ‘रामचन्द्र पौडेलले फेरि पनि पुल उद्घाटन गर्न जान खोजे सरकारले जे भन्छ त्यही गर्छु । कांग्रेसलाई जुलुस प्रदर्शन गर्न दिन्न । पुल उद्घाटन गर्न पनि दिन्न’, उनले चेतावनी दिँदै भनेका छन्, ‘पौडेललाई दुर्व्यवहार भएको छैन । तीन घण्टा नियन्त्रणमा लिएको मात्रै हो । छाडिसकेका छौँ ।’

नेपाली कांग्रेसले बुधबार भएको घटनाको विरोधमा तनहुँमा बिहीबार प्रदर्शन गर्ने जनाएको छ । वरिष्ठ नेता पौडेलले बिहीबार मोटरेबल पुल पुनः उद्घाटन गर्न जाने बताएका छन् ।

Published : Thursday, 2020 December 3, 7:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया