देउवाको फोनले बालुवाटारमा उथलपुथल, कम्युनिस्टहरूको सातो गयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई फोन गरेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न आग्रह गरेका छन् ।

देउवाले बुधबार साँझ ओलीलाई फोन गरेर नेता पौडेललाई तनहुँमा गिरफ्तार गरेको घटनाको विरोध गर्दै तत्काली रिहाइ गर्न माग गरेका हुन् ।

तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

नेकपा र कांग्रेसका कार्यकर्ताबीच पुल उद्घाटनको विषयमा झडप हुन सक्ने भन्दै बुधबार बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल गएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको विषयमा सभापति देउवाले प्रधानमन्त्री ओलीसँग टेलिफोनमा कुराकानी गरेको कांग्रेसले जनाएको छ ।

देउवाको आग्रहपछि ओलीले नेता पौडेललाई रिहाइ गर्ने आश्वासन दिएका छन् । सभापति देउवाले प्रधानमन्त्री ओलीसँग वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिनु पर्नाका कारणसमेत सोधेका थिए ।

पौडेललाई रिहाइ गर्न माग गर्दै तनहुँमा जिल्ला प्रहरी कार्यालयअगाडि कांग्रेस कार्यकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

नेकपाका पाँच जना स्थानीय कार्यकर्तालाई पनि प्रहरी बुधबार दिउँसोदेखि नियन्त्रणमा राखेको छ ।

संघीय सरकारका बजेटबाट बनेका योजना प्रतिपक्षी दल कांग्रेसका नेताले उद्घाटन गर्दै हिँडेको भन्दै नेकपाले विरोध गरिरहेको छ ।

कांग्रेस नेता पौडेलले भने आफ्नो निर्वाचन क्षेत्रमा आफूले बजेटको व्यवस्था गरेको दाबी गर्दै आएका छन् ।

उनले आफूले शिलान्यास गरेका पुललगायत संरचनाको उद्घाटन आफैले गर्नु स्वभाविक भएको बताएका छन् ।

Published : Wednesday, 2020 December 2, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया