कम्युनिस्ट सरकारले तनहुँमा औकात देखाएपछि देशव्यापी प्रतिरोध गर्ने देउवाको धम्की

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीद्वारा भएको दुर्व्यवहारको विरोध गर्दै देशव्यापरी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

देउवाले बुधबार विज्ञप्ति जारी गरेर कम्युनिस्ट सरकारको प्रहरी प्रशासनद्वारा नेता पौडेललाई तनहुँमा भएको व्यवहार र हिरासतमा लिने कार्यलाई ‘सर्वसत्तावादको संकेत’ भनेर टिप्पणी गरेका छन् ।

देउवाले चेतावनी शैलीमा भनेका छन्, ‘घटना आपत्तिजनक एवं निन्दनीय । सरकारको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गरिनेछ ।’

‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथी गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सरकारको यो निन्दनीय ब्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु’, उनले भनेका छन् ।

‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु’, उनले भनेका छन् ।

Published : Wednesday, 2020 December 2, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया