तनहुँमा ‘अरिँगाल’हरूद्वारा कांग्रेसमाथि ‘धावा’, रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई पक्राउ गरेको हो । आफ्नो निर्वाचन क्षेत्रमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ । पौडेलले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई हिरासतमा लिएको जानकारी गराएका छन् ।

वरिष्ठ नेता पौडेलले भनेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ।’

तनहुँमा पुल उद्घाटनमा कांग्रेस र सत्तारुढ नेकपा निकटको युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणमा लिएको जनाइएको छ ।

व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र नेकपाको युवा संघबीच विवाद चर्किएको थियो ।

विवाद भएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पूर्वाधार कार्यालयले पनि तत्कालका लागि पुल उद्घाटन कार्यक्रम रोकिदिन अनुरोध गरेपछि सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताएका छन् ।

व्यास नगरपालिकाले बुधबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलबाट पुल उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो ।

यसैबीच, नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वरिष्ठ नेता पौडेललाई कम्युनिस्ट सरकारले प्रहरी प्रशासन लगाएर पक्राउ गर्न लगाएको भन्दै विरोध गरेका छन् ।

‘सत्ताको उन्मादमा कम्युनिस्ट सरकारले राज्यसत्ताको दुरुपयोग गरेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विषय निन्दनीय छ’, उनले भने, ‘नेकपाका अरिँगालहरूले जसरी पुल उद्घाटनमा अबरोध गरेका छन् त्यो कार्य सैह्य छैन । नेकपाले आफ्ना अरिँगालहरूलाई सहि रुपमा राखोस् । अन्यथा परिणाम ठीक हुनेछैन ।’

Published : Wednesday, 2020 December 2, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया