ओलीको सबै जिम्मेवारी खोस्ने तयारीमा प्रचण्ड समूह, डा.भुसालको गम्भीर खुलासा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पोलिट ब्युरो सदस्य डा.बेदुराम भुसालले पार्टीको बैठकमा जान्ने भन्ने कुरा व्यक्तिवादी चरित्र भएको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा डा.भुसालले पार्टी अध्यक्ष नै बैठकमा जान्ने भन्ने कुरा विधि, पद्धति र प्रक्रियाविरुद्ध रहेको बताए ।

‘बैठकमा जान्न भन्ने कुरा व्यक्तिवादी कुरा हो । समस्या त्यही नै हो । पार्टी अध्यक्ष भएर बैठकमा बस्न सक्नु हुन्न भने छाड्नु प¥यो’, उनले भने, ‘उहाँ आउनु हुन्न भने बैठक चल्छ । बहुमतले निर्णय गर्छ । पार्टी अगाडि बढ्छ ।’

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले मंगलबारको सचिवालय बैठकमा बुधबार बस्ने बैठकमा नआउने जानकारी दिएका थिए । ओली बैठकमा नआउने भएपछि विभिन्न खालका प्रतिक्रियाहरू आइरहेका छन् ।

नेता डा.भुसालले सचिवालयको बैठक मात्र नभई स्थायी समिति, पोलिट ब्युरो र केन्द्रीय कमिटीको बैठकसमेत पूर्वनिर्धारित रहेको बताए । उनले ती सबै बैठक बस्ने बताएका छन् ।

उनले सचिवालयमा पेश भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन फिर्ता नहुने बताए ।

‘प्रचण्डले प्रतिवेदन फिर्ता लिएर माफी माग्ने हो भने पार्टी एकतापछि केपी ओलीले पार्टीको विधान मिचेर गर्नुभएको काम फिर्ता लिनुपर्छ । सबैभन्दा पहिला ओलीले माफी माग्नुपर्छ ।’

नेता डा.भुसालले पार्टीले केपी ओलीलाई जिम्मेवारीबाट हटाउन सक्ने चेतावनी दिएका छन् ।

‘केपी ओली को हो र ? उहाँलाई पार्टीबाट निल्न नसक्ने । जिम्मेवारीअनुसार काम गर्न नसक्ने हो भने त्यस्ता व्यक्तिलाई निकाल्न सकिन्छ । कारबाही होइन । जिम्मेवरी दिने वा नदिने हो । जिम्मेवारी पार्टीले फिर्ता लिन सक्छ ।’

एउटा व्यक्ति नहुँदैमा पार्टी चल्दैन भन्ने कुरालाई पालेर नबसे हुने उनले बताएका छन् । ‘फलानो व्यक्ति वा एक जना व्यक्ति भएन भने पार्टी चल्दैन भन्ने हुँदैन’, डा.भुसालले भने, ‘पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी नहुँदा पनि पार्टी चलेको छ । एउटा व्यक्तिका कारण सबै थोक होइन ।’

नेकपाभित्र विवाद भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पोलिट ब्युरो सदस्य डा.भुसालले ओलीलाई जिम्मेवारीबाट हटाउन सक्ने चेतावनी दिएका छन् ।

Published : Wednesday, 2020 December 2, 8:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया