वीपी कोइरालाका छोराले कांग्रेसको ‘नाकैकाटे’

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का संस्थापक अध्यक्ष विपीन कोइराला राजसंस्था फर्काउने आन्दोलनमा सहभागी भएका छन् ।

सोमबार काठमाडौंमा भएको राजावादीहरूको कार्यक्रममा कोइराला उपस्थित भएका हुन् । वीपी कोइरालाका छोरासमेत रहेका विपीन कोइराला राजसंस्था पुनर्वहालीको माग गर्दै सडकमा उत्रिएका छन् ।

राजावादी संगठन राष्ट्रिय शक्ति नेपालले आयोजना गरेको प्रदर्शनमा कोइरालाको सक्रिय सहभागिता रहेको छ । नेपाली कांग्रेसले राजसंस्थालाई फालेर गणतन्त्रमा प्रवेश गरेको छ ।

कांग्रेसभित्र बसेर विपीन कोइरालाले पार्टीको नीति र सिद्धान्त विपरितका हर्कत गरेको भनेर आलोचना भएको छ । कतिपयले वीपीको छोरा भएर कांग्रेसको नाकैकाटेको भनेर समेत चर्चा गरेका छन् ।

कांग्रेस पार्टीमा धेरै सक्रिय नरहेका कोइराला राजसंस्था फिर्ता गराउने अभियानमा बेलाबेला लाग्दै आएका छन् । कोइराला राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा मनोनीत मन्त्री समेत बनेका थिए ।

कोइरालाले कार्यक्रम राजावादीको मात्र नभइ सबैको रहेको बताएका छन् । उनले राजसंस्था फिर्ता गराउने र संघीयता खारेजी गर्न प्रदर्शन भएको बताए ।

उनले गिरिजाप्रसाद कोइरालाले व्यक्तिगत स्वार्थमा प्रचण्डलाई बोकेका कारण मुलुकले दुर्भाग्य भोग्नुपरेको बताएका छन् । उनले शेरबहादुर देउवाले केपी ओली बोकेको आरोप लगाएका छन् ।

कोइरालाले अहिले पनि आफू कांग्रेसमा रहेको बताएका छन् । विवेकको कुरा राख्ने स्वतन्त्रता भएकैले कांग्रेसमा रहेको उनले बताए ।

कोइरालाले गणतन्त्र र संघीयता खारेजीको माग महासमिति बैठकमा पनि राखेको बताएका छन् ।

Published : Tuesday, 2020 December 1, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया