प्रचण्डले गिरिजाबाबुलाई दिएको धोकाको बदला ओलीले यसरी लिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गिरिजाप्रसाद कोइरालालाई धोका दिएको कुरा उठाएर दोसो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सातो लिएका छन् ।

शनिबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा राजनीतिक प्रवितेदन पेश गर्दै ओलीले पहिलो संविधानसभाका बेला दाहालले गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई धाका दिएको बताएका हुन् ।

‘शान्ति प्रक्रिया प्रारम्भ भएपछिकै प्रसङ्गबाट सुरु गरौँ’, ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको रुपमा देखा परेको तत्कालीन नेकपा (माओवादी) लाई संविधान निर्माणको अगुवाइ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको थियो ।’

‘निर्वाचनमा धक्का खाएका तत्कालीन नेकपा (एमाले) र नेपाली कांग्रेस आफ्ना कतिपय आधारभूत मान्यतामा सम्झौता गरेरै भए पनि संविधान बनोस् भन्ने पक्षमा थिए’, ओलीले भनेका छन् ।

‘पहिलो संविधानसभामा निर्वाचन सफलताको उन्मादमा तपाईं (प्रचण्ड)ले पहिले गिरिजाप्रसाद कोइरालालाई र पछि माधवकुमार नेपाललाई अन्तिम अवस्थामा धोखा दिनुभयो’, ओलीले भने, ‘उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला ?’

‘कसको इशारामा र योजनामा भएका थिए यी सबै दाउपेच ?’, दाहाललाई प्रश्न गर्दै ओलीले भनेका छन्, ‘तैपनि तत्कालीन नेकपा (एमाले) जनादेशलाई कदर गर्दै माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने पक्षमा उभियो । संयुक्त सरकार बन्यो ।’

‘सहमतिका साथ अगाडि बढ्ने यावत् प्रयासका बाबजुद, संविधान निर्माणमा केन्द्रित हुनु पर्नेमा त्यसो नगरी, राज्यसंयन्त्रमा जथाभावी हस्तक्षेप गर्न खोज्दा उक्त सरकार कसरी ढल्यो, त्यसपछि तपाईं कुन बाटोमा अगाडि बढ्न खोज्नुभयो र त्यसका लागि के कस्ता प्रयाश गर्नुभयो, इतिहासले बिर्सेको छैन’, ओलीले भनेका छन् ।

‘सहमतिका आधारमा संविधान बनाउन २०६९ साल जेठ २ गते गरिएको सहमति किन भङ्ग भयो, संविधानसभालाई निरन्तरता दिन अन्य दलले गरेको आग्रहलाई तपाईंंले कसरी लत्याउनु भयो’, उनले भने, ‘मुलुकलाई जनप्रतिनिधिविहीन शून्यतामा पु¥याउनु भयो, इतिहासले यति सजिलै भुल्ने छैन ।’

‘तैपनि, राजनीतिक दलहरूले सुझबुझका साथसंविधानसभाको दोस्रो निर्वाचन गराए’, ओलीले भनेका छन्, ‘निर्वाचनको परिणाम स्वीकार्न तपाईलाई कति गाह्रो भएको थियो ? कसरी ‘छानबिन समिति’ बनाएर तपाईंको ‘फेस सेभिङ’ गर्नुपरेको थियो ? सबै सम्झना छ नि, होइन र ? त्यतिबेला, संविधान, शासकीय स्वरुप र सङ्घीयताबारे तपाईं के भन्नुहुन्थ्यो, के मान्यता राख्नुुहुन्थ्यो, समकालीन नेपाली समाजले सबै हेक्का राखेकै छ’, उनले भनेका छन् ।

‘त्यसैले यस्ता विषयहरू आफ्ना ‘लाइक माइण्डेड’हरूका बीचमा खपतका लागि भन्नु स्वाभाविकै भए पनि इतिहासमा रेकर्ड हुने दस्ताबेजमा राख्दा चाहिँ तपाईंले ख्याल गर्नु भएको हुन्थ्यो’, उनले भनेका छन् ।

‘अर्थात्, संविधान निर्माण र यसप्रतिको तपाईंको ‘निष्ठा’ तपाईंले दाबी गरे जस्तो ‘निष्ठा’ होइन, परिवर्तित शक्ति सन्तुलनले निर्माण गरेको वाध्यात्मक परिस्थितिको उपज थियो’, ओलीले भनेका छन्, ‘त्यसै पनि, यस संविधानको पूर्ण कार्यान्वयनमार्फत् अपेक्षित परिणाम निकाल्नेमा होइन, तपाईंको रुचि आज पनि संशोधनको नाममा निरन्तर प्रयोग एवं परीक्षण र विभिन्न बहानामा अन्ततः अस्थिरतामै रम्नेछ भन्ने कुरा धेरै तथ्यहरूले पुष्टि गर्छन् ।’

ओलीले दोस्रो वरीयताका अध्यक्ष दाहाललाई शनिबारको बैठकमा लिखित रुपमै जवाफ दिएका छन् । ओलीले दाहालको प्रतिवेदनलाई अभियोग पत्र भनेर खारेज गरिदिएका छन् ।

Published : Saturday, 2020 November 28, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया