ओलीको ‘मक्किएको कुर्सी’ बचाउन भित्रभित्रै यी नेताहरूको षड्यन्त्र

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद तत्काल समाधान हुने अवस्थामा देखिएको छैन ।

दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनले नेकपाभित्र खैलाबैला भएको छ । सबैभन्दा धेरै तनाबमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओली छन् । ओलीले दाहालको प्रतिवेदनलाई अभियोग पत्र भन्दै आएका छन् । दाहालको प्रतिवेदनलाई फिर्ता गराउन ओलीले ठूलै प्रयास गरेका छन् । तर, सफल नभएपछि शनिबार बस्ने सचिवालयको बैठकमा दाहाललाई काउन्टर जवाफ दिने तयारीमा ओली छन् ।

यसैबीच, विवाद मिलाउने प्रयास स्वरुप स्थायी समिति सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्माले दाहाललाई फकाउने प्रयास गरेका छन् ।

दाहालसँग खुमलटारमा शुक्रबार भएको भेटमा उनीहरूले पार्टी विभाजनतर्फ जान नहुने र दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिएका थिए ।

दुवै प्रतिवेदनलाई संयुक्त रूपमा बैठकमा पेस गर्नुपर्ने र पार्टीको सम्पत्तिका रूपमा लैजानुपर्ने पोखरेल र शर्माको धारणा थियो ।

सचिवालय बैठकअघि उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका छन् ।

उनीहरू दुवैले पार्टी विभाजन गर्न नहुने विषयमा कुराकानी गरेको भए पनि विभाजन कसले गर्ने र कसका लागि गर्ने भन्नेबारे चाहिँ केही कुराकानी नभएको स्रोतले जनाएको छ ।

पोखरेलले पार्टी एकतालाई बलियो बनाएर लैजाने विषयमा गौतमको मुख्य हात रहेकाले त्यतातर्फ सोच्न आग्रह गरेका थिए ।

उता, सचिवालय बैठक बस्नु एक दिनअघि वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीनिकट नेता एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेट गरेका छन् ।

ढकालले नेपाललाई पार्टी महाधिवेशनपछि नेतृत्व गर्न आग्रह गरेका थिए । नेपालले तेस्रो अध्यक्षको प्रस्ताव अस्वीकार गर्दै आएपछि उनलाई ओली समूहका नेताहरूले लगातार महाधिवेशनपछि नेतृत्व लिन आग्रह गर्दै आएका छन् ।

नेता नेपालले यो विषयलाई धोका दिने अर्को रणनीतिका रूपमा बुझ्दै आएका छन् ।

Published : Saturday, 2020 November 28, 8:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया