भारतीय विदेश सचिवद्वारा कांग्रेसका शीर्ष नेताहरूसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङ्गलाले भेटवार्ता गरेका छन् ।

बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा विदेश सचिव श्रीङ्गलाले कांग्रेस नेताहरूसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्धका विषयमा कुराकानी भएको कांग्रेसले जनाएको छ ।

भारतीय विदेश सचिव श्रीङ्गलासँगको भेटमा सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, डा.दिनेशचन्द्र खनाललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

यसअघि भारतीय विदेशसचिव श्रीङ्गलाले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग बालुवाटारमा भेट गरेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेका छन् ।

भारतीय विदेशसचिव श्रीङ्गला बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद भइरहेका बेला श्रीङ्गला नेपाल भ्रमणमा आएकाा छन् ।

Published : Thursday, 2020 November 26, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया