कांग्रेसका ‘दूत’ कहिले बालुवाटार, कहिले बुढानिलकण्ठ, खुमलटार कांग्रेसको साथ खोज्दै

काठमाडौं । पार्टीभित्र चरम असहयोग भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग पछिल्लो समय सम्बन्ध सुधारको प्रयास गरेका छन् ।

प्रधानमन्त्री ओलीले कांग्रेसका नेता गोपालमान श्रेष्ठमार्फत देउवासँग सम्वाद र छलफलहरू गरिरहेको उच्च स्रोतले जनाएको छ । श्रेष्ठमार्फत ओलीले देउवासँग गरिरहेको सम्वादका विषयमा केही भनिएको छैन ।

यद्यपि, ओली र देउवाबीच मुलुकको राजनीतिक अवस्थाकै विषयमा छलफल भएको हुन सक्छ ।
ओलीलाई पार्टीभित्रैबाट नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले असहयोग गर्दै आएका छन् ।

शनिबारमात्रै प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उप–नेता सुवास नेम्वाङसहित प्रमुख विपक्षी दलका नेता देउवा र केन्द्रीय सदस्य रमेश लेखकसँग परामर्श गरेका थिए ।

ओलीले देउवासँग शनिबार गरेको भेटवार्ता र छलफलबाट नेकपा र कांग्रेसभित्र खैलाबैला भएको थियो । कांग्रेसले ओलीसँग सत्तासाझेदार वा अन्य गलत कुरा केही पनि नभएको जनाइसकेको छ । कांग्रेसले तत्काल सरकारमा जाने कुनै योजना नरहेको जनाएको छ ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा र सरकारको आन्तरिक किचलोमा कांग्रेसको कुनै स्वार्थ नरहेको जनाइसकेका छन् । सरकारमा जाने कुरा अहिलेलाई सम्भावना नरहेको समेत सिटौलाले स्पष्ट बनाइसकेका छन् ।

ओलीले देउवासँग संवैधानिक आयोगहरूको नियुक्तिको विषयमा छलफल गरेको हुन सक्ने कांग्रेसका एक नेताको दाबी छ । ती नेताले भने, ‘प्रधानमन्त्री ओलीज्यूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिहरूको विषयमा इच्छुक देखिनुभएको छ । सायद त्यही विषयमा कुरा भएको हुन सक्छ ।’

कांग्रेसको तर्फबाट अख्तियारमा आयुक्त बन्ने सूचीको चर्चामा नेपाल प्रहरीका पूर्व डीआईजी जयबहादुर चन्द र राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलीप रेग्मीको नाम रहेको छ ।

ओलीले देउवा निकटका नेताहरूसँग गरेको सम्वाद र भेटाघाटबाट नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहाल झस्किएका छन् । खुमलटारले ओली र देउवालाई नजिक हुन नदिने रणनीति बनाएको चर्चा पनि छ ।

मंसिर १३ गतेको सचिवालय बैठकमा दाहालले ओलीविरुद्ध विभिन्न लाञ्छनाहरू लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेकपाभित्र तनाबको अवस्था छ । दाहालले त्यो प्रतिवेदनलाई पुस्तकका रुपमा छपाइ गरेर तल्ला कमिटीहरूमा पठाउन थालेपछि ओली–दाहालको दुरी बढेर गएको छ ।

दाहाल समूहले ओलीको बदनाम गर्न हरेक हत्कण्डाहरू अपनाइरहेको छ । प्रमुख विपक्षी दलको नेतालाई भेटेको कुरालाई पनि दाहाल समूहले फूलबुट्टा भरेर बाहिर ल्याउने गरेको छ । खुमलटार केही दिनयता कांग्रेसको बदनाम गराउने गरेर सक्रिय भएको कांग्रेस नेताहरूको आरोप छ ।

कांग्रेसका एक नेताले नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहालले सभापति देउवालाई फकाएर आफ्नो पक्षमा बनाउन खोजेको आरोप पनि लगाएका छन् । तर, कांग्रेसले नेकपा र सरकारको आन्तरिक किचलोमा नपर्ने यसअघि नै जनाइसकेको छ ।

Published : Thursday, 2020 November 26, 8:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया