वडादेखि मिल्यौँ भने कांग्रेस सत्तामा आउँछ, हामीलाई कसैले हराउन सक्दैनः डा.महत

नेपालगञ्ज । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले ओली सरकार भ्रष्ट हो भनेर कांग्रेसले भन्दै आएको कुरा प्रमाणित भएको बताएका छन् ।

बाँके जिल्लाको जानकी गाउँपालिका–६ गनापुरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले नेकपाको दुइटा अध्यक्षमध्ये एउटा अध्यक्षले आफ्नै सरकार र प्रधानमन्त्रीलाई भ्रष्ट भनेर लिखित रुपमा भनेको बताए । कांग्रेसले सरकार र सरकारमा बसेकाहरू भ्रष्टाचारमा संलग्न छनभन्दै आएको कुरा अहिले आएर नेकपाकै दोस्रो अध्यक्षको लिखित प्रतिवेदनले पुष्टि गरेको उनले बताए ।

सह–महामन्त्री डा.महतले लिखित रुपमै आएको नेकपाको प्रतिवेदनका विषयमा ओली सरकारले जनतालाई जवाफ दिनुपर्ने भन्दै छानविन गरेर कारबाहीको माग पनि गरेका छन् ।

‘नेकपामा दुइटा अध्यक्ष छन् । एउटा अध्यक्षले लिखित रुपमै ओली सरकारले भ्रष्टाचार गरेको भनेका छन् । प्रमाण दिन्छु भनेका छन्’, उनले भने, ‘कांग्रेसले सडक र सदनमा उठाउँदै आएको भ्रष्टाचारको कुरा पुष्टि भएको छ । कांग्रेसले सधैँ सत्य कुरा भन्दै आएको छ । नेकपाकै अर्को अध्यक्षले कांग्रेसले भन्दै आएको कुरालाई पुष्टि गरेका छन् ।’

सत्तामा बसेकाहरू भ्रष्टाचारमा संलगन भएको र बदनाम भएपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेताहरूलाई पनि नाम मुछेर बदनाम गराउन कांग्रेसका विरुद्ध सुनियोजित रुपमा लागेको उनले बताए । ‘सत्तामा बसेकाहरू भ्रष्टाचारमा बदनाम भएका छन् । आफू बच्नका लागि कांग्रेसका नेताहरूको नाम सुनियोजित रुपमा मिडियामा ल्याइदिन्छन्’, डा.महतले भने, ‘हाम्रै साथीहरूले भ्रष्ट कम्युनिस्टहरूको कुरामा विश्वास गरेर जानु हुन्छ । कांग्रेस कहिल्यै पनि अधिकार दुरुपयोग गरेर गलत फाइदा उठाउने पक्षमा छैन ।’

‘कांग्रेसले कुनै पनि अधिकार दुरुपयोग गरेको छैन । कांग्रेसमा जसले गल्ती गर्छ कानूनी रुपबाट दण्ड पाउनुपर्छ’, उनले भनेका छन् ।

‘कम्युनिस्टहरूको शासनमा भ्रष्टाचार गरे पनि केही पनि नहोस् भनेर यो सरकारले गरिरहेको छ’, डा.महतले भने, ‘भ्रष्टाचारीलाई संरक्षण गर्ने, उन्मुक्ति दिने, चोख्याउने यो ओली सरकारले गरेको छ ।’

जनताले मुलुकमा विकास, स्थायित्व आउने भनेर चुनावमा कम्युनिस्टलाई जिताएर पठाएको बताएका डा.महतले भने, ‘कम्युनिस्टलाई जिताएर देश झन् बरबाद भयो ।’

नेकपाका नेताहरू मिल्न नसकेर विदेशीहरूलाई बोलाएर पार्टीभित्रको विवाद मिलउने गरेको उनले आरोप लगाए । ओली सरकारले विदेशी हस्तक्षेपलाई बढाइरहेको डा.महतले बताएका छन् ।

‘नेकपाका कारण यो दश बरबाद हुन्छ । नेकपालाई विदेशीहरू आएर मिलेर बस भनेपछि मिलेर बस्छन् । कम्युनिस्ट नेताहरूलाई आफूप्रति विश्वास छैन’, डा.महतले भने, ‘कम्युनिस्टहरू जनतामा जानु छ भनेर विश्वास गर्दैन । विदेशीलाई विश्वास गर्छन् ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले नेपालको आन्तरिक मामिलामा विदेशीलाई ल्याउँदा अर्को देश पनि आउनेभन्दै नेकपाका कारण राष्ट्रियता खतरामा परेको बताए ।

‘नेपाल विदेशीको चलखेल भएको छ । राष्ट्रियता खतरामा छ । गलत बाटोमा गइरहेको छ’, उनले भने, ‘नेकपा र ओली सरकार राष्ट्रवादको नारा लगाएर आयो । अहिले देखियो राष्ट्रवादी छवि ।’

सह–महामन्त्री डा.महतले ओली सरकार किसानलाई समयमा मल नदिएर भ्रष्टाचार गरेको आरोप लगाए । उनले किसानलाई समयमा मल, सिचाइँको सुविधा नदिएको बताए । उनले मलमा कमिशन खानका लागि समयमा आयात नगरेको बताएका छन् । धानको बिक्री मूल्यमा पनि नेकपाको सरकारले कमिशन खानका लागि किसानलाई दुःख दिन व्यापारीहरू र बिचौलियासँग मिलेको डा.महतले आरोप लगाएका छन् ।

कांग्रेसको विवादका विषयमा चिन्तित देखिएका डा.महतले वडादेखि नै मिलेर जानुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

‘अहिले मिलेर जानुपर्छ । सबै साथीहरूले पद पाउँछौँ । वडादेखि नै मिलेर जानुपर्छ’, सह–महामन्त्री डा.महतले भने, ‘कसैलाई तल वा माथि पार्ने हुने गरेर काम नगरौँ । स्थानीय नेतृत्वले मिलाएर लैजाने काम गर्नुपर्छ ।’

डा.महतले वडादेखि मिलेर गयौँ भने कांग्रेस भोलिका दिनमा सत्तामा आउने बताए । ‘हामी मिल्यौँ भने भोलिका दिनमा कांग्रेस सत्तामा आउने हो’, उनले भने, ‘कांग्रेसलाई कसैले रोकेर रोकिदैन । हामीभित्रको एकता नै हाम्रो जित हो ।’

Published : Sunday, 2020 November 22, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया