क्षमताले भ्याएसम्म कांग्रेस जनताको साथी र सहयोगी बनेको छः डा.महत

बर्दिया । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कोरोनाभाइरसको संक्रमणले उपचार नपाएर जनता दिनदिनै मरिरहेका बेला सत्तामा बसेकाहरू झगडा गरेर तामासा गरेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस बर्दियाले शुक्रबार कोभिड–१९ तथा समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले सरकारले कोरोना महामारीका बेला काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘लकडाउन मात्रै गरेर हुँदैन । कोरोनाका कारण धेरैले रोजगारी गुमाएका छन् । गरिव जनताले उपचार पाएका छैनन् । अस्पतालमा पुगेर पनि उपचार नपाएर मर्नु परेको छ ।’

नेपाली कांग्रेस कोरोना अनुगमन समितिका संयोजक समेत रहेका डा.महतले कांग्रेसले कोरोना महामारीका बेला साथ दिँदा पनि कम्युनिस्ट सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

‘उपचार नपाएर मानिसहरू मर्नु परेको छ । अस्पतालहरूमा राम्रोसँग उपचार भएको छैन’, सह–महामन्त्री डा.महतले भने, ‘सत्तामा बसेकाहरू जनता मरे पनि मरुन् भनेर सत्ताको लुछाचुडीमा लागेका छन् ।’

‘कम्युनिस्टहरूलाई जनताले पाँच वर्ष काम गर्न बहुमत दिएका छन्’, डा.महतले भने, ‘उहाँहरू जनताको जीवन बचाउनेभन्दा पनि कुर्सी र पद प्राप्तीको खेलमा लाग्नुभएको छ ।’

सह–महामन्त्री डा.महतले स्वास्थ्यको विषय संविधानले आधारभूत अधिकारमा राखेको स्मरण गराउँदै भने, ‘महामारीका बेला सरकारले सबै जनताको स्वास्थ्य सुरक्षा र उपचार निःशुल्क गर्नुपर्छ ।’

बिगतमा कोरोना संक्रमितको परीक्षण र उचारमा शुल्क लिने निर्णय गरेर सरकार विवादमा परेको बताएका डा.महतले भने, ‘कांग्रेसले बोलेको छ । सरकारले काम गर्न अनाकानी गर्छ । निःशुल्क उपचार गर्न सर्वोच्चले भनेपछि बल्ल निःशुल्क बनाएको छ ।’

‘सरकारले कांग्रेसले भनेको कुरा सुनेको छैन । कांग्रेसले बोलिरहेको छ’, उनले भने, ‘कोरोनाले गर्दा मानिसहरू संक्रमित मात्रै भएका छैनन् बेरोजगार भएका छन् । सरकारले बेरोजगारलाई रोजगारी दिने विषयमा योजना बनाएको छैन ।’

‘कांग्रेसले कोरोनाका विषयमा अनुगमन गर्न कोरोना अनुगमन समिति नै बनाएको छ’, उनले भनेका छन् ।

कोरोनाबाट प्रभावित र रोजगारी गुमाएका जनतालाई खुलामञ्चमा निःशुल्क खाना खुवाउँदा काठमाडौं महानगरपालिकाको बेइज्जत भयो भनेर कम्युनिस्टहरूले उधुम मच्चाएको सह–महामन्त्री डा.महतले बताए । ‘खुलामञ्चमा हामी पनि गयौँ । साथीहरूले निःशुल्क खुवाएर राम्रो काम गर्नुभएको छ’, उनले भने, ‘निःशुल्क खाना खुवाउँदा काठमाडौं महानगरपालिकाका मेयरलाई बेइज्जत भयो रे ! कम्युनिस्ट सरकारमा असंवेदनशीलता छ ।’

‘कांग्रेस जनताको पक्षमा सक्रिय छ । कांग्रेससँग सरकारी साधन स्रोत छैन । स्थानीय, प्रदेश र केन्द्र सरकार कांग्रेससँग छैन’, उनले भने, ‘सरकारले गर्ने काम कांग्रेसले गर्दैन । तर, खबरदारी गर्न सक्छौँ । कांग्रेसको क्षमताले भ्याएसम्म जनताको सहयोगी र जनताको साथी हुनुपर्छ । भएका छौँ । कांग्रेसले जितेका स्थानीय तहमा जनतालाई सहयोग गरेका छौँ ।’

Published : Friday, 2020 November 20, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया