गोकुल बास्कोटाका १५० कार्यकर्ताले पार्टी छाडे, काभ्रे कांग्रेसमा हर्सोल्लास

रोशी । काभ्रे जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

रोशी गाउँपालिका– ४ मा नेपाली कांग्रेसको वडा कार्यसमितिले बिहीबार आयोजना गरेको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका दुई दर्जन बढी स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाइँ, नेपाली कांग्रेस काभ्रेसका जिल्ला सभापति मधु आचार्य, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापतिद्वय रमेश हुमागाइँ र रमेश योञ्जन, रोशी गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेस नेता डीबी लामा, गाउँपालिकाकी उपाध्यक्ष एवम् कांग्रेस नेतृ लक्ष्मी बतौँला, कांग्रेसका महासमिति सार्कीमान लामा लगायतले स्वागत गरेका थिए ।

नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गर्नेमा करीव १५० जना रहेको कांग्रेसका महासमिति सदस्य सार्कीमान लामाले जानकारी दिए ।

कांग्रेस प्रवेश गर्नेमा ०५४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेबाट गाविस उपाध्यक्षमा निर्वाचित हरिशचन्द्र श्रेष्ठ, ०७४ को वडा सदस्यमा झिनो मतअन्तरले पराजित वडा सदस्य साइला लामालगायत रहेका छन् ।

कांग्रेस प्रवेश गरेका स्थानीय नेताहरूले कम्युनिस्टले जनतालाई सधैँ झुठ बोलेर भ्रममा राख्ने गरेको बताए । कम्युनिस्ट नेताहरू देश र जनताभन्दा पनि व्यक्तिगत रुपमा कमाइ गर्न लागेको उनीहरूले आरोप लगाएका छन् ।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा कांग्रेस नेताहरूले जनताले झण्डै दुईतिहाइ बहुमत दिएर सत्तामा पुर्‍याउँदा पनि कम्युनिस्टहरूले झगडा गरेर जनताको काम गर्न नसकेको आरोप लगाए ।

कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले कम्युनिस्ट नेताहरू र सरकारबाट जनताले आशा मारिसकेको बताए । उनले भने, ‘कम्युनिस्टहरू आफैले कमाउन लागेका छन् । जनता भोकै मर्ने अवस्था आएको छ । सत्ता र पदका लागि आफैभित्र झगडा गरेका छन् ।’

नेकपाका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा कम्युनिस्ट पार्टीप्रति वितृष्णा पैदा भएर नेकपाका नेता कार्यकर्ताहरू धमाधम कांग्रेसमा प्रवेश गरिरहेका छन् ।

तत्कालीन सूचना तथा प्रविधिमन्त्री बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन मागेको काण्डको अडियो टेप सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

रोशी गाउँपालिका काभ्रेको क्षेत्र नं. १ मा पर्छ । सो क्षेत्रबाट प्रतिनिधि सभामा नेकपाका चन्द्र लामाले जितेका छन् । कम्युनिस्ट सांसद लामाले काम गर्न नसकेको भन्दै स्थानीयहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

Published : Friday, 2020 November 20, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया