कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनको मोर्चा खोल्न कांग्रेसको ढिलाइ किन ?

काठमाडौं । सरकारले काम गर्न सकिरहेको छैन । आवश्यक्ताभन्दा पनि धेरै संख्या हुँदा पनि नेकपाले काम गर्न नसक्नु नेपाली कांग्रेसका लागि आन्दोलनको उर्वर मौका छ । हेरेक ठाउँमा असफल भएको सरकारविरुद्ध कांग्रेसले मोर्चा खोल्न सकिरहेको छैन । कांग्रेसका कारण प्रधानमन्त्री केपी ओलीको सरकारलाई सजिलो भएको छ । कांग्रेसले प्रभावकारी रुपमा जिम्मेवारी बहन गर्न नसक्दा सरकारलाई झन् सजिलो भइरहेको छ ।

कांग्रेसले तिहारपछि आन्दोलन गर्ने निर्णय गरिसकेको छ । आन्दोलनको तयारी भने कांग्रेसले गर्न सकेको छैन । १४औँ महाधिवेशनका कारण आन्तरिक विवादमा रहेको कांग्रेसले आन्दोलनको गृहकार्यका लागि कार्यदल बनाएर काम गर्नुपर्ने थियो । अहिलेसम्म कांग्रेस कसरी सडक र सदनमा जाने भन्ने विषयमा मौन छ । कस्ता खालका आन्दोलन गर्ने भन्नेमै नेताहरूका बीच मतभेद छ ।

संसदको अधिवेशन बोलाउन कांग्रेसले पहिलो प्राथमिकता दिएर दवाव सिर्जना गर्नेछ । संसदमा ओली सरकारलाई घेराबन्दी गरेर असहयोग गर्ने पक्षमा कांग्रेस छ । संसद बोलाउन अहिलेसम्म कांग्रेसले दिनुपर्ने दवाव दिन सकेको छैन । प्रधानमन्त्री ओलीलाई संसद बोलाउन दवाव सिर्जना गर्नुपर्छ । आफ्नै पार्टीभित्रबाट असजिलो अवस्थामा रहेका ओलीलाई कांग्रेसले संसदको अधिवेशन बोलाउन दवाव दिने विषयमा ढिलाइ गर्नु हुँदैन ।

कांग्रेसले संसदको अधिवेशन बोलाउन ढिलाइ गर्नुको कारण कतै प्रधानमन्त्री ओली र सभापति शेरबहादुर देउवाबीच गोप्य समझदारी त छैन ? भन्ने प्रश्न उठाएको छ । कोरोना महामारीका बेला काम गर्न नसकेको सरकारका विरुद्ध कांग्रेसले आन्दोलनको मोर्चा खोल्न ढिला गर्नु हुँदैन । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले छठपछि पार्टी आन्दोलनमा जाने बताएका छन् । उनले सरकारले जनताको जीवनसँग खेलवाड गरेको भन्दै कोरोनाको बहानामा भएका भ्रष्टाचार, अराजकता, विभिन्न काण्डहरूका विषयमा आवज उठाउने बताएका छन् ।

ओलीलाई आफ्नै पार्टीका नेताहरूले असहयोग गरिरहेका छन् । दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित रुपमै ओली र ओली सरकार असफल भएको भनेर सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिसकेका छन् । यस्तो अवस्थामा कांग्रेसले आन्दोलनको मोर्चा खोल्न किन ढिलाइ गरिरहेको छ ? कार्यकर्ताहरूले बुझेका छैनन् । सभापति देउवालाई ओलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा भाग पाउँछु कि भन्ने आशा पनि हुन सक्छ ।

सभापति देउवाले आफ्नो बिग्रिदै गएको छविलाई सुधार गर्न आवश्यक छ । अन्य लोभलालसामा नपरेर सभापति देउवाले ओली सरकारविरुद्ध आन्दोलन घोषणा गरेर कार्यकर्ताहरूको मनोबल उठाउनुपर्छ । कांग्रेसका कार्यकर्ताहरूले पनि सरकारविरुद्ध आन्दोलनको माग गरिहेका छन् । सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्ने मौका कांग्रेसका लागि योभन्दा अर्को बिकल्प छैन । पार्टीभित्रैबाट ओलीलाई असहयोग भइरहेका बेला प्रमुख प्रतिपक्ष दल कांग्रेसले सडक र सदन तताउने योभन्दा उपयुक्त मौका फेरि नआउन सक्छ ।

Published : Thursday, 2020 November 19, 7:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया