प्रचण्डलाई ‘राष्ट्रद्रोह’को मुद्धा लगाउने धम्की, बास्कोटाद्वारा माओवादीको भण्डाफोर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले सचिवालयको बैठकमा दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिएको कुण्ठाका विषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।

नेता बास्कोटाले कसैले व्यक्तिगत कुण्ठा पोख्न आरोप लगाएको विषयमा जवाफ दिन नपर्ने बताए । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चित्त बुझ्दैन भने अदालत, अख्तियार, संसदका संसदीय समितिहरूमा उजुरी हाल्न दाहाललाई सुझाव दिएका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले कुनै पनि राष्ट्रघात नगरेको दाबी गरेका छन् । उनले आरोपै लगाउने हो भने दाहालसहितका माओवादी नेताहरूलाई भारतमा बसेर युद्ध गरेको अभियोगमा राष्ट्रद्रोहको मुद्धा लगाउन सकिने बताएका छन् ।

‘इतिहाँसहरू साँक्षी छन् । म यति मात्रै भन्न सक्छु । एस.डी. मुनिले लेखेको पहाडको टुप्पोबाट जमीनको सतहमा माओवादीलाई झार्दा वा उतार्दा भनेर लेखेको किताबमा के लेखेको छ ? अनि भारतसित गएर के–के लिखितम सन्धि, सम्झौता म गर्छु भनेर बचनबद्धता जनाएको छ’, नेकपाका नेता बास्कोटाले भनेका छन् ।

‘त्यसो हो भने युद्ध थोपर्न अर्काको देशसित गएर मिलेर देशविरुद्ध राष्ट्रद्रोह गरेको आरोपमा लगाउँ ? त्यो हो ? अलिकति विचार गर्नुपर्छ’, चेतावनी शैलीमा बास्कोटाले भनेका छन्, ‘सँगै नजाने हो भने यस्ता आरोपहरू ठीकै छन् । लगाउनु, जानु, अर्कोले काउन्टर गर्छ ।’

उनले भने, ‘यो १२औँ शताब्दी होइन क्या । यो २१औँ शताब्दी हो । हरेकलाई तथ्यहरू थाहा छ । कुनै भ्रमको पर्दा हाल्नु पर्दैन । कथा बुन्नु र सत्य तथ्य बुझ्नु दुई भिन्न कुरा हुन् ।’

दोस्रो वरीयताका अध्यक्ष दाहालतिर संकेत गर्दै नेता बास्कोटाले भनेका छन्, ‘उहाँहरूले भने जस्तो चीन, भारतसँग राष्ट्रवादको मण्डले जामा वा उग्रराष्ट्रवादको कुरा गरेर कसैसित सम्बन्ध राख्नु हुँदैन ? के राष्ट्रघात भयो ? त्यो त बताउनु पर्‍यो नि त ?’

‘कि के हो काण्डै–काण्ड लगाएको भनेर भन्या छ । काण्डै–काण्ड भनेको के हो ? त्यसो भए हामीलाई पनि विभिन्न काण्डहरू थाहा छ नि ?’, उनले भने, ‘त्यसको जवाफ दिने कुरा होइन । कुन–कुन काण्ड कहिले भए ? भनेर थाहा नभइकन आरोप लगाएर र त्यस उपर के भइरहेको छ भन्ने कुरा पनि अध्ययन नगरेर छ भनेर हामीले भनेकै छौँ त ।’

बास्कोटाले भने, ‘छानविन हुनुपर्छ राज्यका निकायहरूबाट । कसैले व्यक्तिगत आरोप लगाएर त्यसैलाई स्वीकार गरेर हिँड्नुपर्छ भन्ने छैन । संसदको लेखा समिति छ । अर्थ समिति छ । परराष्ट्र समिति छ । सबैले उठाएको राष्ट्रघातको कुरा परराष्ट्र समितिले हेरे भो । आर्थिक अपचलनको कुरा छ भने लेखा समिति र अर्थ समितिले हेरे भो ।’

‘हामीसित नियमनकारी व्यवस्था छ । अदालत छ । अख्तियार छ । नागरिकहरूसँग मिडिया पनि छ’, उनले भने, ‘यी सबै कुरा सत्य तथ्याका आधारमा जानु पर्छ । कसैले आरोप लगाइदिएपछि त्यो आरोपलाई त्यही हो भनेर मानेर हिँड्नुपर्ने छैन ।’

दोस्रो वरीयताका अध्यक्ष दाहाललाई सचेत गराउँदै बास्कोटाले भने, ‘केपी ओलीमाथि लागेका आरोपहरू प्रमाणित गर्न सक्नु हुन्छ कि हुन्न ? सक्नु होस् शुभकामना । पुष्टि होस् व्यक्तिगत आरोपले होइन, राज्यका नियमनकारी निकायहरूद्वारा छानविन होस् । आरोप लगाइदिएर कराएको भरमा, ठूलो स्वर गरेर हल्ला गराएर कोही नाङ्ग्लो ठटाएर हात्ति तर्सेला भन्ठान्ने खालको हो भन्ने हो–हल्ला नगरौँ भन्ने लाग्छ मलाई ।’

‘त्यो तहमा उत्रिनु भनेको राम्रो कुरा होइन । राष्ट्रघात पनि भएको छैन । अरु नराम्रा काम पनि भएको छैन । ती सबै झुठका पुलिन्दा हो । त्यो आफै पानीको फोका झैँ हराएर जान्छ’, उनले भनेका छन् ।

‘वाहियात आरोपहरूको जवाफ दिएर हिँड्नुपर्छ भन्ने लाग्दैन । जे कुरामा सत्यता छैन, जे कुरामा तथ्य छैन, जे कुरामा तर्क छैन, जे कुरा मनोगत आग्रह र कुण्ठाले भरिएको छ, त्यो कुण्ठाहरूको जवाफ दिएर हिँडेर कसैले सक्छ त्यो ? त्यो भए अदालतमा मुद्धा हाल्नुस् । अख्तियारमा मुद्धा हाल्नुस्’, उनले भनेका छन् ।

‘पार्टीको अध्यक्षले त्यो कुरा गरेर आउनु हुन्छ भने त्यो राजनीति फण्डा हो, विषय होइन । उहाँले मुद्धा हाले भइहाल्यो त ? यो डेमोक्रेसी हो, यो कुनै शक्ति र बल प्रयोगको अवस्था होइन । शक्ति र आरोपहरूको विचित्र नदेखाउँ । के जवाफ दिनु पर्‍यो’, नेकपाका प्रभावशाली नेता बास्कोटाले भनेका छन् ।

नेकपाभित्रको विवादका विषयमा आरोप प्रत्यारोप भइरहेका बेला नेता बास्कोटाको यस्तो धारणा आएको छ । दाहालले सचिवालयको बैठकमा ओलीविरुद्ध अभियोग पत्र पेस गरेको ओली समूहको भनाइ छ ।

Published : Monday, 2020 November 16, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया