सभापति देउवाद्वारा तिहारको शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीहरूको महान चाड तिहारको पाँचौ दिन भाइटीका तथा नेपाल सम्वतको नयाँ वर्ष ११४१ को सुखद् अवसरमा शुभकामना दिएका छन् ।

देउवाले आइतबार शुभकामना सन्देश जारी गरेर स्वदेश तथा विदेशमा रहनेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सु–स्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

‘नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो’, उनले भने, ‘हामीमा निहीत बन्धुत्व भावले विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ ।’

देउवाले भनेका छन्, ‘तिहारले पनि हामीबीचको एकतालाई अझ मजबूत बनाएको छ । तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरूमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरूबीच तथा आफन्तहरूबीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।’

सभापति देउवाले बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिने बताएका छन् ।

‘नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो’, देउवाले भने, ‘नेपाल सम्वतको नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाको योगदानलाई सम्झाउँछ ।’

‘यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो’, उनले भनेका छन् ।

‘शंखधर साख्वालाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं’, सभापति देउवाले भनेका छन् ।

‘कोभिड—१९ को महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेको छ । यसको रोकथाम र नियन्त्रणमा सरकार जनताका प्रति गैर जिम्मेवार, अनुत्तरदायी र संवेदनहीन देखिएको छ’, देउवाले भनेका छन् ।

‘सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिकहरू आफै पनि सचेत र सजग हुन जरुरी छ’, उलने भनेका छन् ।

‘स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै सामाजिक दुरी कायम गरेर पर्व मनाउन म सबैलाई आग्रह गर्दछु’, सभापति देउवाले भनेका छन् ।

‘अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वतको नयाँ दिनले हाम्रो पारस्परिक एकता र सदभावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल सम्वतको नयाँ वर्षको उपलक्ष्यमा म सबैमा सुख, शान्ति र समृद्धिको पुनः शुभकामना व्यक्त गर्दछु’, कांग्रेस सभापति देउवाले नेका छन् ।

Published : Sunday, 2020 November 15, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया