दाहालले बल्ल देखाए बालुवाटारभित्रै ‘पावर’, ओली समूह चकित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनाकुनै निस्कर्ष सक्किएको छ ।

बालुवाटारमा शुक्रबार बसेको बैठकमा दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् । कार्यकारी अध्यक्ष भएका दाहालले आफ्नो ‘शक्ति’ देखाउँदै राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

यसअघिका सचिवालय बैठकमा यसरी प्रतिवेदनहरू खासै पेश हुँदैन थिए । ओलीले प्रतिवेदन पेश गरेका घटना बिरलै छन् । दाहाल कार्यकारी अध्यक्ष भएपछि आफ्नो ‘पावर’ बैठकमा देखाएका छन् ।

दाहालले सो प्रस्ताव सदस्यहरूलाई वितरण गरेका छन् । प्रतिवेदन अध्ययनपछि मंसिर ३ गते सचिवालयको बैठक बस्ने गरि स्थगित भएको छ ।

दाहालले सचिवालयको बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बुझाइएको पत्र पनि सदस्यहरूलाई वितरण गरेको स्रोतले जनाएको छ ।

दाहालसहितका सदस्यहरूको पत्रमा ओलीले दिएको लिखित जवाफलाई पनि नेताहरूलाई दिइएको छ ।

ओलीले सचिवालयको बैठक बोलाउन नमानेपछि दाहालले गुटको भेला गरेका थिए । दाहालको गुटको भेलामा ओली समूह गएको थिएन ।

दाहाल समूहले ओलीलाई लिखित पत्र बुझाए सचिवालयको बैठक बोलाउन माग गरेपछि ओलीले महासचिव विष्णु पौडेललाई बैठक बोलाउन निर्देशन दिएका थिए । सचिवालयमा ओली अल्पमतमा छन् ।

ओलीको पक्षमा महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा मात्रै छन् ।

दाहाललाई वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् ।

सचिवालयको बैठकमा दाहालले राजनीतिक प्रवेदन पेश गरे पनि ठोस निर्णयबिना सक्किएको छ ।

Published : Friday, 2020 November 13, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया