तिहारका बेला गरिव दलितको घरमा उज्यालो बनेर पुगे तरुण अध्यक्ष विष्ट

वीरेन्द्रनगर । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले अति विपन्न गन्धर्ब परिवारलाई उपचारका लागि २१ हजार १ सय ११ रुपियाँ नगद सहयोग गरेका छन् ।

तरुण अध्यक्ष विष्टले तिहार शुरु भएको दिन सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका– ७ कि कौशिला गन्धर्बलाई नगद सहयोग गरेका हुन् । कौशिला चार वर्ष अगाडि रुखबाट खसेर अपाङ्ग भएकी थिइन् ।

खर्च अभावमा समयमा उपचार हुन नसक्दा कौशिला घरमा ओछ्यानमा बस्दै आएकी छिन् । उनको कम्मरभन्दा मुनिको भाग चल्दैन । कौशिलाको परिवारलाई साँझ बिहान जीवन गुजारा गर्न समेत समस्या छ । कौशिलाको परिवारमा चार जना बिरामी छन् ।

कम्मरभन्दा मुनि नचलेपछि कौशिलाले ओछ्यानमै दिशा, पिसा गर्ने गर्छिन् । उपचारमा सहयोग होस् भनेर आफूले व्यक्तिगत रुपमा थोरै भएपनि नगद सहयोग गरेको अध्यक्ष विष्टले बताएका छन् ।

‘कौशिला गन्धर्बलाई मैले दिएको २१ हजार १ सय ११ रुपियाँ धेरै ठूलो रकम होइन’, अध्यक्ष विष्टले भने, ‘मैले दिएको सहयोगले उहाँको उपचारमा थोरै भएपनि सहयोग हुने अपेक्षा लिएको छु ।’

सरकारले बनाइदिएको घरमा बस्दै आएको कौशिलाको सात जनाको परिवार दैनिक मजदुरी र ज्यालादारीको काम गरेर दैनिक गुजारा गर्दै आएको छ ।

तरुण अध्यक्ष विष्टले कौशिलालाई नगद दिने क्रममा उप–मेयर मैना विक र वडाध्यक्ष बिर्खबहादुर विकको पनि उपस्थिति रहेको थियो ।

कोरोना महारीका बेला अति विपन्न, बिरामी र मजदुरहरूलाई खाद्यान्नसहित विभिन्न सहयोग गर्दै आएका तरुण अध्यक्ष विष्टले गरिव र दीनदुःखीको सेवामा आफूलाई केन्द्रित बनाउँदै आएका छन् ।

Published : Thursday, 2020 November 12, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया