चीनले १८ लाख मान्छेलाई कैद गरेको खुलासा, दमन रोक्न माग गर्दै काठमाडौं र रुपन्देहीमा प्रदर्शन

काठमाडौं । चीनमा उईगुर समुदायका मुस्लिममाथि भएको दमनका विरुद्ध नेपालका विभिन्न स्थानमा भव्य प्रदर्शन भएको छ ।

नेपाली मुस्लिमहरूले बिहीबार काठमाडौं र रुपन्देहीमा चीनविरुद्ध प्रदर्शन गरेका हुन् । नेपाली मुलसमानहरूले काठमाडौंस्थित चिनियाँ राजदूतावासमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

चिनियाँ राजदूतावासमा बुझाइएको ज्ञापन–पत्र उनीहरूले परराष्ट्र मन्त्रालय र मुस्लिम आयोगलाई बोधार्थ दिएका छन् ।

उनीहरूमा चीनमा रहेका उईगुर मुस्लिम समुदायलाई दमन नगर्न चेतावनी दिएका छन् ।

चीनमा १८ लाख उईगुर मुसलमान बसोबास गर्छन् । उनीहरूलाई चिनियाँ सरकारले दमन गरी यातना दिएर कैद गरेर राखेको नेपाली मुलसमानहरूले आरोप लगाएका छन् ।

१८ लाख उईगुर मुसलमानहरूलाई चीनले कैद गरेर शिविरमा राखेर यातना दिएको आरोप छ ।

चीनमा उईगुर मुसलमानहरूलाई रोजा बस्न र बुर्खा लगाउन बन्देज गरेको भन्दै नेपाली मुसलमानहरूले चिनियाँ सरकारको विरोध गरेका छन् ।

चीनका उईगुर मुस्लिम समुदायमाथि भइरहेको चरम दमन, शोषणको विरोध गर्दै प्रदर्शन भएका हुन् ।

प्रदर्शनमा सहभागीहरूले काठमाडौंको पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध र्‍याली गरेका थिए ।

जमीअत उलमा–ए नेपालले उईगुर समुदायमाथि चीनमा भइरहेको अत्याचार बन्द गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

जमीअत उलमा–ए नेपालका सह–सचिव सफिकुर रहमानले चीनमा रहेका उईगुर समुदायमाथि दमन गरेर जघन्य अपराध गरिरहेको चिनियाँ सरकारले मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिबन्ध लगाउने काम गरेको आरोप लगाए ।

उनले मुस्लिम समुदायका व्यक्तिहरूपनि शान्तिका पक्षरहेको बर्ताका छन् र रहमानले अन्य धर्मका मानिसहरूलाई जस्तै स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न चीन सरकारसँग माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरू चीनविरुद्ध लेखिएका व्यानर, प्लेकार्डहरू बोका थिए । विरोध प्रदर्शनमा उत्रिएकाहरूले चिनियाँ सरकारलाई उइगुर मुसलमानहरूको मस्जिद भत्काउने कार्य बन्द गर्न समेत चेतावनी दिएका छन् ।

‘चीनमा उईगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उईगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उईगुर मस्लिमको मानवअधिकार बहाली’ गर जस्ता नारा लगाएका ब्यानर नेपाली मुस्लिमहरूले बोकेका थिए ।

चिनियाँ राजदूतावासमा बुझाइएको ज्ञापन–पत्रमा भनिएको छ, ‘चीनको जिनजियाङ्गका उईगुर मुस्लिममाथि भइरहेको दमन र मानवअधिकार उल्लंघनका घटनाहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

‘लामो समयदेखि उईगुर मुसलमानको जेनोसाइड भइरहेको, उनीहरूको धार्मिक आस्थामाथि हमला भइरहेको विश्व समुदायको सामु छ’, अमीअत उलमा–ए नेपालले चिनियाँ राजदूतावासमा बुझाएको ज्ञापन–पत्रमा भनिएको छ, ‘उईगुर मुसलमानको आन्दोलन गर्ने, संगठित हुने र अभिव्यक्ति दिने जस्ता स्वतन्त्रामाथि बन्देज लगाइएको छ ।’

‘उईगुर मुस्लिम महिलाहरूलाई बुर्खा लगाउन बन्देज लगाइएको छ’, ज्ञापन–पत्रमा भनिएको छ, ‘पुरुषहरूको दाह्री राख्ने स्वतन्त्रता खोसिएको छ ।’

‘रमजान महिनामा ब्रत राख्ने हक खोसिएको छ’, ज्ञापन–पत्रमा भनिएको छ, ‘सभा, सेमिनार र चाडपर्व मनाउनेसम्मको स्वतन्त्रता खोसिएको छ । समग्र चीन सरकारले उईगुर संस्कृतिमाथि नै बन्देज लगाएको छ ।’

नेपाली मुस्लिम समुदायले बुझाएको ज्ञापन–पत्रमा भनिएको छ, ‘मुस्लिम समुदाय चीन सरकारको मुस्लिम समुदायमाथिको यो दुई जिब्रे नीतिको भर्त्सना गर्दै उईगुर मुसलमानमाथिको सम्पूर्ण बन्देजहरू फुकुवा गरी उनीहरूको स्वतन्त्रता प्रदान गर्न अपील गर्दछ’, सह–सचिव सफिकुर रहमानद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा भनिएको छ ।

रुपन्देहीमा मुस्लिम वेलफेयर सोसायटीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएर चीनमा उईगुर मुसलमानमाथिको दमन रोक्न माग गरेका छन् । सोसाइटीका सदस्य आलम अन्सारी र सचिव मो.अकिलले हस्ताक्षर गरेको ज्ञापन–पत्रको बोधार्थ परराष्ट्र मन्त्रालय काठमाडौं, नेपालका लागि चिनियाँ राजदूतावास काठमाडौं र मुस्लिम आयोग काठमाडौंलाई दिइएको छ ।

Published : Thursday, 2020 November 12, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया