कांग्रेसको केन्द्रीय समितिको बैठकफेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारसम्मका लागि सरेको छ ।

बैठक कात्तिक २८ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी तोकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

मुख्यसचिव पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।’

बिहीबारका लागि तोकिएको बैठक कार्यदलको सहमतिको प्रस्ताव आउन ढिला भएका कारण शुक्रबारसम्म स्थगित गरिएको स्रोतले जनाएको छ ।

महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा.शशांक कोइरालालाई पार्टीभित्रको विवाद अन्त्यका लागि सहमतिको प्रस्ताव बनाउन पदाधिकारी र शीर्ष बैठकले जिम्मेवारी दिएको थियो ।

‘केन्द्रीय कार्यसमितिको बैठक कातिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

Published : Wednesday, 2020 November 11, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया