सर्लाहीमा नेकपाका १५० भन्दा धेरै कार्यकर्ता कांग्रेसमा प्रवेश

बागमती । सर्लाही जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सय ५० भन्दा धेरै स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार बागमती नगरपालिका– ६ गुम्बा टोलीमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका १५० भन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई कांग्रेसका नेता एवम् पूर्वमन्त्री गोविन्दबहादुर शाह, कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरूले स्वागत गरेका छन् ।

नेपाली कांग्रेस सर्लाहीकी नेतृ सोनी बम्जनले नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको बताइन् । कम्युनिस्ट सरकारबाट आजित भएका नेता कार्यकर्ताहरूले नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेको बम्जनले उल्लेख गरेकी छिन् ।

नेपाली कांग्रेस सर्लाही–काठमाडौं सम्पर्क समितिको आयोजना भएको कार्यक्रममा हरेश महतो, प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंह, पेमा योञ्जन, महिला नेतृ मैया बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

गुम्बा टोलीमा विशेष गरी बोट र तामाङ समुदाय धेरै बस्छन् । बुधबार दिउँसो बसबरिया गाउँपालिकाको धनगढामा पार्टी प्रवेश कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ ।

कार्यक्रममा पूर्वमन्त्री गोविन्दबहादुर शाह, युवा नेता रामहरि खतिवडा लगायतका नेताहरूले नवप्रवेशीहरूलाई कांग्रेसमा प्रवेश गराउनेछन् ।

नेपाली कांग्रेसका नेताहरुले मंगलबार नै एउटा क्लबलाई खेल सामग्री प्रदान गरेका छन् ।

हविन नगरपालिका–११ स्थित प्याराडाइज क्रिकेट टिमलाई जर्सी तथा खेलकुद सामग्री प्रदान गरिएको छ ।

खेल सामग्री प्रदान कार्यक्रममा कांग्रेस नेता एवं पूर्व जिल्ला उप–सभापति विनोद खनाल, प्रजातान्त्रिक समाजका केन्द्रीय सदस्य एवं सर्लाही अध्यक्ष रामहरि न्यौपाने, नेताहरू नरेन्द्र भट्टराई, विनोद कार्की, विद्यार्थी नेता रघु कार्की लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2020 November 11, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया