खुमलटारमा बालुवाटारका शक्तिशाली ‘दूत’सँग परामर्श

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद छताछुल्ल भएका बेला महासचिव विष्णु पौडेलले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

सोमबार ललितपुरको खुमलटारस्थित निवासमा भएको भेटवार्तामा दाहाल र पौडेलबीच भएको छलफलमा केन्द्रीय सचिवालयको बैठक बोलाउने विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

महासचिव पौडेलले पार्टीको विधानअनुसार सचिवालयको बैठक बोलाउन तयार रहेको जानकारी दाहाललाई गराएका छन् ।

दोस्रो वरीयताका अध्यक्ष दाहालसहितका बहुमत सचिवालय सदस्यहरूले अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेर लिखित पत्र दिँदै सचिवालयको बैठक बोलाउन माग गरेका थिए ।

नेकपाको विधानअनुसार अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउने व्यवस्था छ । बैठक १५ दिनभित्र बोलाउनुपर्छ । नेकपामा महासचिव पौडेललाई शक्तिशाली नेताका रुपमा लिइन्छ । विगतमा पौडेलले ठूला–ठूला विवादलाई समाधान गरिसकेका छन् ।

ओलीले सचिवालयको बैठक नबोलाएमा दाहाल आफूले सचिवालयको बैठक बोलाउने तयारी गरेको स्रोतको भनाइ छ । दाहाललाई माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले साथ दिँदै आएका छन् । नेता नेपालको साथ पाएपछि दाहालले सरकारलाई अफ्ठ्यारो बनाउँदै आएका छन् ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै दाहालको नेतृत्वमा बहुमत सचिवालय सदस्यहरूले गुटको भेला र बैठकहरू गरेर असहयोग गर्दै आएको संस्थापन पक्षको आरोप छ ।

संस्थापन पक्षले दोस्रो वरीयताका अध्यक्ष दाहालका कारण पार्टी र सरकारमा समस्या रहेको आरोप लगाउँदै आएको छ ।

Published : Monday, 2020 November 9, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया